कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले थापालाई पदमुक्त गर्दै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरे इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । त्यसविरुद्ध कार्की सर्वोच्च आए थिए ।

सोही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य थापा यसअघि पनि असार २१ मा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गरेको पाइएपछि सर्वोच्चले साउन ११ गते उनको नियुक्ति नै बदर गरेको थियो ।

सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर ४७ जनाको हस्ताक्षर जुटाएर साउन १६ गते थापा फेरि मुख्यमन्त्री नियुक्त भएका थिए । लगत्तै कार्की सर्वोच्च पुगेका थिए ।

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बैठकको अध्यक्षता गरेका व्यक्तिले मत दिएको संविधानसम्मत् नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न आन्तरिम आदेश दिएका थिए । त्यसपछि यो मुद्दा संयुक्त हुँदै पूर्ण इजलासमा पुगेको हो ।


क्लिकमान्डु