मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नाम राखिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारका मन्त्रालय र मन्त्रीहरुका लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् ।
जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै बुधबार मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९ मै रहेको ५२ बिघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् ।
त्यसका लागि प्रक्रिया अगाडि बढाइसकिएको उनले जानकारी दिए । उनले सरकारका सबै मन्त्रालयको प्रशासनिक भवनका साथै आवाससमेत सोही परिसरमा निर्माण गरिने बताए ।
मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपुर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिनाअघि नै पठाइसकिएको उल्लेख गरे । उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आएलगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी काम अघि बढाउने स्पष्ट पारे ।
मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामकरण गरिने उनको भनाइ छ ।