सेयर बजारमा २ वर्षअघिका सर्वाधिक १० ठूला कम्पनीको यस्तो हालत



काठमाडौं । नेपालको सेयर बजारले ओरालो यात्रा (बियरिस) थालेको दुई वर्ष बितिसकेको छ । दुई वर्षअघि २०७८ भदौ २ गते सर्वाधिक उचाइको इतिहास कायम गरेर ओरालो लाग्न थालेको बजारले लगानीकर्तामा यदाकदा मात्र सामान्य उत्साह भर्न सकेको छ ।

नेप्से परिसूचक १७ सय हाराहारीसम्म झर्दा निकै निराश भएका लगानीकर्ता बढेर २३ सय हाराहारीसम्म पुग्दा केही उत्साहित भए । तर, दुई वर्षअघि ३२१८.८६ अंकसम्म पुगेर ३१९८.६ अंकमा क्लोज भएको बजार देखेका लगानीकर्तालाई त्यसपछिका हरेक अंकले निराश बनाइरहेको छ ।

सेयर बजारमा सामान्यतः परिसूचकभन्दा कम्पनीप्रति विश्वास राख्नुपर्ने मान्यता राखिन्छ । परिसूचक कति बढ्यो, कति घट्यो भन्नेले भन्दा पनि आफूले किनको कम्पनीको मूल्य कुन अवस्थामा छ र त्यो कम्पनीले दिने प्रतिफल कस्तो छ भन्नेले बढी अर्थ राख्ने विश्लेषकहरु बताउँछन् ।

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई परिसूचकभन्दा आफूले किनेका कम्पनीको मूल्यको उतारचढाव र त्यसले दिने प्रतिफललाई बढी ध्यान दिनुपर्ने बताउँछन् । ‘मार्केट लिडर कम्पनी चिन्न र किन्न सक्ने तथा त्यसलाई होल्ड गर्न सक्ने लगानीकर्ता सेयर बजारमा पछुताउनु पर्दैन,’ उनी भन्छन्, ‘परिसूचकसँग दौडिन खोज्नेहरुलाई भने सधैं गाह्रो हुन्छ ।’

मंगलबार (भदौ १९) नेप्से परिसूचक १९६१.३७ अंकमा छ । २०७८ भदौ २ गतेको सर्वाधिक उचाइको विन्दुभन्दा यो ३८.६८ प्रतिशतले तल छ । परिसूचक नै हेर्दा पनि लगानीकर्ता आत्तिने स्थिति हो यो । अझ कम्पनीहरुको मूल्यमा आएको गिरावट झन् कहालिलाग्दो छ ।

नेप्से सर्वाधिक उचाइमा रहेका बेला सेयर बजारका सर्वाधिक १० ठूला कम्पनी कुन-कुन थिए र अहिले ती कम्पनीको अवस्था कस्तो छ भनेर यहाँ केलाउने प्रयास गरिएको छ । २०७८ भदौ २ गते नबिल बैंक, नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, नेपाल पूर्वाधार बैंक र प्राइम बैंक बजार पुँजीकरणका हिसाबले दोस्रो बजारका सबैभन्दा ठूला कम्पनी थिए ।

नबिल बैंक

२०७८ भदौ २ गते नबिल बैंकको प्रतिकित्ता सेयर मूल्य १५०५ रुपैयाँसम्म पुग्यो । त्यसबेला कम्पनीको कुल सेयर संख्या १३ करोड ४८ लाख कित्ताभन्दा बढी थियो भने बजार पुँजीकरण २ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ थियो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३३.६ प्रतिशत र आव २०८९/७९ मा १८.५ प्रतिशत बोनस बाँड्यो भने नेपाल बंगलादेश बैंकलाई मर्ज गरेको छ ।

हाल कम्पनीको सेयर संख्या २७ करोड ५ लाख कित्ताभन्दा बढी छ । तर बजार पुँजीकरण भने १ खर्ब ५७  अर्ब ४१ करोड रुपैयाँमा झरेको छ । मंगलबारको मूल्य (५८१.८)को तुलनामा नबिलका लगानीकर्ताले प्रतिकित्ता ९२३ रुपैयाँ २० पैसा गुमाएका छन्, जुन ६१.३४ प्रतिशत कम हो । समीक्षा अवधिमा नबिल बैंकको सम्पत्ति४५ अर्ब ४६ करोड रुपैयाँले घटेको छ ।

नेपाल टेलिकम

२०७८ भदौ २ गते नेपाल टेलिकमको प्रतिकित्ता सेयर मूल्य १२०५ रुपैयाँ थियो । त्यसबेला १५ करोड कित्ता सेयर रहेको कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ८० अर्ब ७५ करोड रुपैया थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस बाँडेको छ । अहिले कम्पनीको कुल सेयर संख्या १८ करोड कित्ता नाघेको छ । तर, बजार पुँजीकरण भने १ खर्ब ५४ अर्ब ९८ करोड रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८.५५ प्रतिशत अर्थात् १२०५ रुपैयाँबाट घटेर ८६१ रुपैयाँमा झरेको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी

नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य दुई वर्षअघि १५६० रुपैयाँ हुँदा कुल बजार पुँजीकरण १ खर्ब ५६ अर्ब रुपैया थियो । त्यसबेला कम्पनीको सेयर संख्या १० करोड कित्ता थियो ।

अहिले कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ६६६ रुपैयाँमा झर्दा बजार पुँजीकरण पनि ८५ अर्ब ३३ करोड ८२ लाख रुपैयाँमा झरेको छ । जबकि, कम्पनीले २०७७/७८ मा ५ प्रतिशत र २०७८/७९ मा ४.७५ प्रतिशत बोनस सेयर बाँडेको छ । अहिले कम्पनीको कुल सेयर संख्या १२ करोड ८१ लाख कित्ता नाघेको छ । कम्पनीको सेयर मूल्य समीक्षा अवधिमा ५७.३१ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

दुई वर्षको अवधिमा नेपाल लाइफको सम्पत्ति ८३ अर्बभन्दा धेरैले घटेको छ । भदौ २ गते १ खर्ब ३९ अर्ब ५३ करोड रहेको बजार पुँजीकरण मंगलबार ५६ अर्ब ६ करोड ४ लाखमा झरेको हो ।

कम्पनीको कुल सेयर ७ करोड १९ लाख कित्ता थियो भने मूल्य १९३८ रुपैयाँसम्म पुग्यो । अहिले ८ करोड २० कित्ताभन्दा धेरै छ भने प्रतिकित्ता सेयर मूल्य ६७५ रुपैयाँ ६० पैसा छ । लगानीकर्ताले यसबीचमा प्रतिकित्ता १२६२ रुपैयाँ ४० पैसा गुमाएका छन्, जुन ६५.१४ प्रतिशत कम हो ।

नागरिक लगानी कोष

२०७८ भदौ २ गते नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मूल्य ४०५० रुपैयाँसम्म पुग्यो ।त्यसबेला कम्पनीको सेयर संख्या ३ करोड २७ लाख कित्ता थियो भने बजार पुँजीकरण १ खर्ब ३२ अर्ब ४३ करोड रुपैयाँ थियो ।

कम्पनीले आव २०७७/७८ मा ३० तथा आव २०७८/७९ मा २५ प्रतिशत बोनस सेयर बाँड्यो । अहिले कम्पनीको कुल सेयर संख्या ५ करोड ३१ लाखभन्दा बढी छ भने मूल्य प्रतिकित्ता २०२५ रुपैयाँ छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ७ अर्ब ७० करोडमा झरेको छ । बजार पुँजीकरण २४ अर्बभन्दा धेरैले घटेको छ ।लगानीकर्ताले प्रतिकित्ता २०२५ रुपैयाँ गुमाएका छन्, जुन दुई वर्षअघिको मूल्यभन्दा ५० प्रतिशत कम हो ।

जलविद्युत लगानी तथा विकास कम्पनी

जलविद्युत लगानी तथा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुई वर्षअघि ५७५ रुपैयाँ थियो । कुल २२ करोड कित्ता सेयर भएको कम्पनीको बजार पुँजीकरण १ खर्ब २६ अर्ब ५५ करोड थियो ।

कम्पनीले आव २०७७/७८ मा ८ तथा आव २०७८/७९ मा ५ प्रतिशत बोनस सेयर बाँड्यो । अहिले कम्पनीको कुल सेयर संख्या २२ करोड ७७ लाख कित्ताभन्दा धेरै छ भने बजार पुँजीकरण ३७ अर्ब ९२ करोड १७ लाखमा झरेको छ ।बजार पुँजीकरण ८८ अर्बभन्दा धेरैले घटेको हो ।मंगलबार कम्पनीकोसेयर मूल्य १६६ रुपैयाँ ३० पैसामा झरेको छ । लगानीकर्ताले प्रतिकित्ता ४०८ रुपैयाँ ७० पैसा घटेको छ, जुन दुई वर्षअघिको तुलनामा ७१.०८ प्रतिशत कम हो ।

एनआईसी एसिया बैंक

दुई वर्षको अवधिमा एनआईसी एसिया बैंकका लगानीकर्ताको सम्पत्ति करिब २५ अर्बले घटेको छ । प्राथमिक पुँजीकोष तोकिएअनुसार कायम नगरेका कारण कम्पनीले दुई वर्ष लाभांश बाँड्न पाएन । कम्पनीको सेयर संख्या ११ करोड ५६ लाख कित्ताभन्दा धेरै छ ।

समीक्षा अवधिमा कम्पनीको बजार पुँजीकरण १ खर्ब १५ अर्ब ४६ करोडबाट ९० अर्ब ५६ करोड ६१ लाख रुपैयाँमा झरेको छ भने मूल्य ९९८ रुपैयाँ ५० पैसाबाट ७७८.८ रुपैयाँमा झरेको छ । सेयर मूल्य प्रतिकित्ता २१९ रुपैयाँ ७० पैसा अर्थात् २२ प्रतिशतले घटेको हो ।

ग्लोबल आईएमई बैंक

सेयर बजार उच्च विन्दुमा पुगेका बेला २०७८ भदौ २ गते ग्लोबल आईएमई बैंकको प्रतिकित्ता सेयर मूल्य ४९० रुपैयाँ थियो । कुल सेयर संख्या २१ करोड ६३ लाख कित्ताभन्दा धेरै थियो भने बजार पुँजीकरण १ खर्ब ५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी थियो ।

कम्पनीले आव २०७७/७८ मा १० तथा आव २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर बाँड्यो । यसबीचमा कम्पनीले बैंक अफ काठमाडौंलाई मर्ज पनि गरेको छ । अहिले कम्पनीको कुल सेयर संख्या ३५ करोड ७७ लाख कित्ताभन्दा बढी पुगेको छ । तर, मूल्य घटेर २०० रुपैयाँ १ पैसामा झरेपछि बजार पुँजीकरण ७१ अर्ब ५७ करोड ७८ लाखमा झरेको छ ।

बजार पुँजीकरण ३४ अर्बभन्दा धेरैले घटेको छ । कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २८९ रुपैयाँ ९० पैसा गुमाएका छन्, जुन दुई वर्षअघिको तुलनामा ५९.१६ प्रतिशत कम हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सम्पत्ति पनि दुई वर्षमा आधाभन्दा धेरैले घटेको छ । नेप्से उच्च विन्दुमा हुँदाकम्पनीको सेयर मूल्य ४९४ रुपैयाँ प्रतिकित्ता थियो । कुल सेयर संख्या २० करोड कित्ता थियो भने बजार पुँजीकरण ९८ अर्ब ८० करोड थियो ।

ब्याज नाफा कमाएको कम्पनीले आव २०७७/७८ मा ८ प्रतिशत बोनस सेयर बाँड्यो । अहिले कम्पनीको कुल सेयर संख्या २१ करोड ६० लाख कित्ता छ भने बजार पुँजीकरण ४२ अर्ब ७६ करोड ४० लाख रुपैयाँमा झरेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ ५० पैसा छ । दुई वर्षमा बजार पुँजीकरण ५६ अर्बले घटेको छ भने लगानीकर्ताले प्रतिकित्ता २९८ रुपैयाँ ५० पैसा गुमाएका छन्, जुन समीक्षा अवधिमा ६०.४३ प्रतिशतको गिरावट हो ।

प्राइम कमर्सियल बैंक

दुई वर्षअघि प्राइम कमर्सियल बैंकको प्रतिकित्ता सेयर मूल्य ५२८ रुपैयाँ थियो । कुल १६ करोड ८ लाख कित्ताभन्दा धेरै सेयर संख्या भएको कम्पनीको बजार पुँजीकरण ८४ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ थियो ।

कम्पनीले आव २०७७/७८ मा १६ तथा आव २०७८/७९ मा ४ प्रतिशत बोनस सेयर बाँड्यो । अहिले कम्पनीको सेयर संख्या १९ करोड ४० लाख कित्ताभन्दा धेरै पुगिसकेको छ । तर, बजार पुँजीकरण भने ३५ अर्ब १७ करोड ६८ लाखमा झरेको छ । बजार पुँजीकरण समीक्षा अवधिमा झन्डै ५० अर्बले घटेको छ । अहिले कम्पनीको मूल्य प्रतिकित्ता ३४८ रुपैयाँले घटेर १८० रुपैयाँमा झरेको छ, यो ६५.९१ प्रतिशतको गिरावट हो ।

दुई वर्षमा १५ खर्बले घट्यो लगानीकर्ताको सम्पत्ति ?

सेयर बजार अनियन्त्रित गतिले बढिरहेको थियो । नेप्सेले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको थियो । कारोबार रकमले २१ अर्ब रुपैयाँ नाघिरहेको थियो । बजार पुँजीकरण ४४ खर्बभन्दा माथि थियो । यस्तो अवस्थाबाट बजार ओरालो लाग्न थालेको हो ।

बजार यो अवधिमा ३८ प्रतिशतले घट्दा मंगलबार बजार पुँजीकरण २९ खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ । दुई वर्षको अवधिमा लगानीकर्ताको सम्पत्ति १५ खर्बभन्दा बढीले घटिसकेको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ को क्याप लगाइदिएपछि पुँजीबजारमा हलचल नै आयो । अधिकतम १२ करोडसम्म कर्जा सीमा कायम गर्नुपर्ने भएपछि बजारबाट बाहिरिने र कर्जा घटाउनुपर्ने दबाबमा ठूला लगानीकर्ता परे ।

राष्ट्र बैंकले प्रदान गरेको पुनर्कर्जालगायतका सहुलियतपूर्ण कर्जा पनि सेयर बजारमा जाँदा बजार उचालिएको थियो । सस्तो ब्याजदरको पैसा अन्य माध्यमबाट घुमेर सेयर बजारमै आएको थियो । तर, ब्याज बढ्दै जाँदा र राष्ट्र बैंकले नीतिगत कडाइ गर्दै जाँदा बजारबाट बाहिरिनेको संख्या बढ्दै गयो ।

घट्दो बजारलाई तरलता अभावले झनै सहज बनाइदियो । तरलता अभावसँगै ब्याजदर उच्च रुपमा बढेर गयो । कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुग्यो । सेयर बजार र ब्याजदरबीच विपरीत सम्बन्ध हुने हुँदा उच्च ब्याजदर भएका बेला बजार बढ्ने सम्भावना थिएन ।

२०७९ माघदेखि तरलता अभाव चुलियो । कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा बैंकहरु पुगे । माग पनि सुस्ताउँदै गयो । अरु कुनै खाले कर्जाको माग नभएका कारण सेयर बजारमा घुमेर पैसा आउने सम्भावना पनि भएन । बैंकहरुले सिधै सेयर बजारमा लगानी पनि गरेनन् ।

अहिले दैनिक कारोबार १ अर्बभन्दा तल झरेको छ । मंगलबार नै पनि ७९ करोड ६८ लाख रुपैयाँको मात्र कारोबार भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिपछि नै बजार २६५ अंकले घटिसकेको छ ।

मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० प्रतिशतमा झारिएको छ । सबै सेयर कर्जाका लागि जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग ठूला लगानीकर्ताले गर्दै आएका थिए । राष्ट्र बैंकले ठूलालाई कस्ने नीति लिएका कारण पनि बजारमा अन्योल छाएको कतिपय लगानीकर्ता बताउँछन् ।

(यसअघि असावधानीवश फरक कम्पनीको तथ्यांक सम्प्रेषित भएकोमा सच्याइएको छ । – सं.)


डीआर आचार्य