एलओडी कर छलि प्रकरणः विस्तृत अनुसन्धान गर्ने निर्णय, महानिर्देशकले तोके अनुसन्धान अधिकृत
काठमाडौं । राजस्व अनुसन्धान विभागले ठमेलमा सञ्चालित क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) को कर छलिका विषयमा विस्तृत अनुसन्धान गरेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीको विषयमा विस्तृत अनुसन्धान गर्न विभाग निर्देशक सन्तोष पौडेललाई जिम्मेवारी दिएका छन् ।
एलओडीले दैनिक गर्ने कारोबारको वास्तविक बिल बिजक जारी नगरी नियमित कर छली गरिरहेको राजस्व अनुसन्धान विभागको प्रारम्भिक आंकलन छ ।
पौडेल नेतृत्वको समितिले एलओडीमा छापा मार्दै प्रारम्भिक अनुसन्धान गरेको थियो ।
विभागले प्रारम्भिक अनुसन्धानका क्रममा एलओडीले फर्जी बिल बिजक प्रयोग गर्दै कर छली गरेको विभिन्न प्रमाण फेला पारेको थियो ।
पौडेल नेतृत्वको शाखाले एलओडीको विषयमा प्रारम्भिक प्रतिवेदन बुझाएपछि महानिर्देशक ढुंगानाले गत शुक्रबार एलओडीको विषयमा विस्तृत अनुसन्धान गर्ने निर्णय गरेका हुन् ।
विभागले एलओडीको सिस्टमबाट कपी गरेर लगेको तथ्यांकहरु अनुसन्धान गर्दा कर छली भएको प्रारम्भिक निस्कर्ष निकालेको थियो ।
नेपाल सरकारलाई कम राजस्व तिर्ने नियतले एलओडीले गलत वित्तीय विवरण तयार गरेको विभागको प्रारम्भिक निस्कर्ष थियो ।
गत साउन २७ गते बिहान विभागले एलओडीमा छापा मार्दै विभिन्न कागजात नियन्त्रणमा लिएको थियो ।
कर छली गरेको कुनै आधार देखिएमा विभागका महानिर्देशकले अनुसन्धानका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अधिकृत तोक्नु पर्ने व्यवस्था छ ।
ऐनको दफा ८ मा राजस्व चुहावटका सम्बन्धमा कुनै सूचना प्राप्त भएका तत्कालै प्रारम्भिक अनुसन्धान गर्नु पर्ने कानूनी व्यवस्था छ ।
सोही व्यवस्था अनुसार राजस्व अनुसन्धान विभागले एलओडीमा छापा पारेको थियो ।
यस्तै, प्रारम्भिक अनुसन्धानको क्रममा कसैले राजस्व चुहावट गरेका वा चुहावट गरेको शंका गर्ने मनासिव आधार भएका अनुसन्धानका लागि ऐनको दफा १० बमोजिम महानिर्देशकले अनुसन्धान अधिकृत तोक्नु पर्ने कानूनी व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार प्रारम्भिक प्रतिवेदन बुझेपछी विभागका महानिर्देशकले अनुसन्धान अधिकृत तोकेका हुन् ।
अनुसन्धान अधिकृतले अनुसन्धान सुरु भएको ६ महिना भित्र कार्य सम्पन्न गर्नु पर्छ । तर, अनुसन्धान अधिकृतले काम सम्पन्न नभएको भन्दै समय मागेका महानिर्देशकले ३ महिना समय थप्न सक्छन् ।
गत साउन २७ गते एलओडीमा छापा मार्दा राजस्व अनुसन्धान विभागले एलओडीको गोदाममा सील लगाएको थियो ।
एलओडीको गोदाममा भएका सामानको लगत लिएपछि विभागले गोदाममा लगाएको सील खोलेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिएका थिए ।
दिनमा लाखौं रुपैयाँको कारोबार गर्दासमेत कानुनअनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको लिखित उजुरीका आधारमा विभागले एलओडीमा छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।
एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र रविन श्रेष्ठ हुन् । विभागले एलओडीमा छापा मारेपछि केही दिन विभागमा सम्पर्कमा नरहेका उनीहरु दुई जनाले पछी विभागलाई प्रारम्भिक अनुसन्धान गर्न सहयोग गरेका थिए ।
‘हामीले उहाँहरुलाई कानून अनुसार अनुसन्धान गर्ने भन्दै राजनीतिक शक्ति प्रयोग नगर्न भनेका छौं, ’विभागका एक अधिकृतले भने, ‘राजस्व नउठेको नयाँ क्षेत्र पहिचान गर्नु पर्ने राज्यको नीतिअनुसार क्लबहरुमा छापा मारिकएको हो । आगामी दिनमा पनि हामीहरु राजस्व छली भइरहेका क्षेत्रमा अनुसन्धान गर्नेछौं ।’
नाबालिगलाई क्लबमा प्रवेश अनुमति दिएको आरोपमा गत असार २१ गते एलओडीका सञ्चालक पक्राउ परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिएपछि हाल उनीहरु तारिखमा छन् ।
एलओडी विश्वका चर्चित क्लबमध्ये ४९औं नम्बरमा पर्ने सञ्चालकहरुको दाबी छ ।