कर छलीको आशंकामा एलओडीमा राजस्व अनुसन्धानको छापा



काठमाडौं । राजस्व अनुसन्धान विभागले ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी)मा छापा मारेको छ ।

कर छली गरेको आशंकामा शनिबार (साउन २७ गते) बिहान राजस्व अनुसन्धान विभागको टोलीले एलओडीमा छापा मारेको हो। विभागले आर्थिक कारोबार सम्बन्धी सबै विवरण नियन्त्रणमा लिँदै एलओडीमाथि छानबिन सुरु गरेको छ ।

‘दिनमा लाखौं रुपैयाँको कारोबार गर्दासमेत कानुन अनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको उजुरीका आधारमा हामीले एलओडीबाट आवश्यक कागजात नियन्त्रणमा लिएका हौं,’ विभागका एक अधिकारीले भने, ‘अनुसन्धान जारी रहेकाले कति कर छली भयो भन्न सकिन्न ।’

एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र रविन श्रेष्ठ हुन् । उनीहरु दुई जनाको एलओडीमा कानुनी रुपमा करिब ६० प्रतिशतको स्वामित्व छ ।

विभागले एलओडीको सिस्टममा रहेका डाटाहरु कपी गरेर लगेको विभागका अधिकारीले जानकारी दिए । नाबालिगलाई क्लबमा प्रवेश अनुमति दिएको आरोपमा गत असार २१ गते एलओडीका सञ्चालक पक्राउ परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिएपछि हाल उनीहरु तारिखमा छन् ।

एलओडी विश्वका चर्चित क्लबमध्ये ४९ औं नम्बरमा पर्ने सञ्चालकहरुको दाबी छ । एलओडीले दैनिक गर्ने कारोबारको वास्तविक बिल बिजक जारी नगरी नियमित कर छली गरिरहेको राजस्व अनुसन्धान विभागको आशंका छ ।

‘हामीले डिजिटलरुपमा तयार गरिएका खरिद खाता, बिक्री खाता, बिल बिजक, स्टक सम्बन्धी विवरण नियन्त्रणमा लिएका छौं,’ विभागका एक अधिकारीले भने, ‘एलओडीले विगतदेखि कर कार्यालयमा बुझाएको विवरण र उसको सिष्टममा भएको विवरण मिलान गर्दै हामी अनुसन्धान गरिरहेका छौं ।’


शरद ओझा