न्यायाधीश नियुक्तिमा अब राजनीतिक भागबण्डा हुन्नः कानुनमन्त्री
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ? भनेर प्रश्न गरेका थिए ।
मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटोछरितो बनाउन सरकार क्रियाशील रहेको दाबी गरे ।
सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटोछरितो बनाउन विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।
मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।