नविल बैंकका ५० जना पुराना र सिनियर कर्मचारी जागिर छाड्न तयार
काठमाडौं। नविल बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) को समय थप गर्ने भएको छ ।
बैंकले ल्याएको भिआरएस योजनामा व्यवस्थापनले सोचेभन्दा धेरै कमले मात्रै आवेदन दिएपछि ७ दिन समय थप्ने भएको हो । आइतबार भिआरएसको समय सकिएको छ ।
बैंक स्रोतका अनुसार जम्मा ५० जनाको हाराहारीमा मात्रै कर्मचारीले जागिर छाड्न आवेदन दिएका छन् । बैंक व्यवस्थापनले कम्तिमा १०० जना कर्मचारी भिआरएसमा सहभागी हुने अनुमान गरेको थियो ।
‘व्यवस्थापनले सोचेभन्दा निक कमले मात्रै जागिर छाड्न आवेदन दिएपछि समयावधि थप्न लागिएको हो,’ बैंकको उच्च व्यवस्थापनमा कार्यरत एक अधिकारीले भने ।
बैंकमा ३४०० को हाराहारीमा कर्मचारी छन् । जसमध्ये २४ सय जना पेरोलमा छन् ।
मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा ल्याएको हो । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस ल्याएको हो ।
यसअघि बैंकले २ पटक भीआरएस सुविधा ल्याएको बैंकले नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि तेस्रो पटक भीआरएस ल्याएको हो ।
नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।
अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश एनबी बैंकका थिए ।
यो भीआरएस सिनियर तहका तथा पूराना कर्मचारीका लागि ल्याइएको हो ।