नबिलमा जागिर नखाने एनबी बैंकका कर्मचारीले २४ महिनाको तलब पाउने



काठमाडौं । नबिल बैंकसँग एक्विजेशनमा जान लागेको नेपाल बंगलादेश (एनबी) बैंकले कर्मचारीलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ ।

नबिल बैंक र एनबी बैंकले एक्विजेशनको लागि आगामी जेठको पहिलो साता विशेष साधारणसभा बोलाएका छन् । विशेष साधारणसभाले एक्विजेशन प्रक्रिया अनुमति दिएपछि असारको तेस्रो साताबाट नबिल बैंकको नाममा एकीकृत कारोबार हुने छ ।

एकीकृत कारोबारपछि एनबी बैंकका कर्मचारीको समायोजन प्रक्रिया करिब मिलेको छ । एनबी बैंकका कर्मचारी नबिल बैंकमा समायोजन हुँदा तलब सुविधा घट्ने छैन । कर्मचारी समायोजनका लागि केही कर्मचारीको पद भने घटुवा हुने छ ।

‘नबिल बैंकमा तलब सुविधा बराबर भएर समायोजना हुँदा केही कर्मचारीको पद घटुवा हुनु स्वभाविक हो, यसमा कर्मचारीले चित्त दुखाउनुपर्ने अवस्था छैन,’ एनबी बैंक स्रोतले भन्यो ।

एनबी बैंकमा रहेका कर्मचारीहरु एकीकृत कारोबारपछि करिब सबै सूचकमा पहिलो हुने बलियो ब्राण्ड नबिल बैंकका कर्मचारी हुन पाउँछन् ।

एनबी बैंकका कर्मचारीले समायोजनको विषयमा असन्तुष्टी व्यक्त गरेका थिए । एकीकृत कारोबारपछि पद घटुवा हुने भएको हुँदा कर्मचारीको असन्तुष्टी थियो ।

‘केही कर्मचारीको असन्तुष्टी समायोजन प्रक्रियामा थियो, जसलाई सम्बोधन गरिएको छ,अब एक्जिजेशनमा देखिने गरेर ठूलो समस्या छैन,’ स्रोतले भन्यो ।

एनबी बैंकको कर्मचारी समायोजनको व्यवस्थापन गर्ने काम बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले गरेका थिए । ढुंगाना असारदेखि नविल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्दैछन् ।

समायोजनमा जान नचाहने कर्मचारीलाई १ वर्षदेखि २ वर्षसम्मको तलब

एनबी बैंकले नबिल बैंकसँग एक्विजेशन भएर समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकास योजना (भिआरएस) ल्याएको छ । भिआरएसमा जाने कर्मचारीलाई एनबी बैंकले सुविधा दिएर बिदाई गर्ने छ । एनबी बैंकले एकवर्षदेखि २ वर्षसम्मको तलब दिने गरेर भिआरएस योजना ल्याएको छ । भिआरएस योजनामा कर्मचारीले पाउने तलब सुविधालाई जोडिएको छ ।

‘कर्मचारीले बैंकबाट पाउने सबै तलब भत्तालाई जोडेर आउने रकमलाई आधार मानेर भिआरएस योजना ल्याएको छ,’ एनबी बैंक स्रोतले भन्यो ।

बैंकले कार्यकारी भूमिका कर्मचारीलाई १५ महिनाको तलब दिएर बिदा गर्ने योजना बनाएको छ । यस्तै अफिसर तहका कर्मचारीलाई १८ महिना तथा सहायक तहका कर्मचारीलाई २१ महिना र तल्लो तहका कर्मचारीलाई २४ महिनाको तलब दिएर बिदा गर्ने नीति लिएको छ ।

‘समायोजनपछि काम गर्न नसक्ने कर्मचारीलाई खाइपाई आएको तलब सुविधामा १ वर्षदेखि २ वर्षसम्मको एकमुष्ट सुविधा दिएर बिदा गर्ने नीति हो,’ स्रोतले भन्यो ।

तल्लो तहका कर्मचारीले २४ महिनाको तलब लिएर जागिर छाड्ने अवसर भएको हुँदा यसबाट कर्मचारीलाई अन्याय नहुने बुझाई एनबी बैंकको सञ्चालक समितिको छ ।

‘उच्च तहका कर्मचारीले १५ महिना र तल्लो तहका कर्मचारीले २४ महिनाको तलब पाएपछि अन्याय हुँदैन, सो अवधीमा कर्मचारीले नयाँ जागिर खोज्न सक्छन्,’ एनबी बैंकका एक सञ्चालकले भने ।

एनबी बैंकमा अहिले करिब १ हजार कर्मचारी कार्यरत छन् । एनबीलाई गाभेपछि नबिल बैंक धेरै सूचकमा पहिलो स्थानमा आउने छ ।


क्लिकमान्डु