विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छः ऊर्जामन्त्री



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।

मन्त्री बस्नेतले मन्त्रीपरिषदले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताए । उनले सञ्चारकर्मीमाझ सो जानकारी गराएका हुन् ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाइ थियो । उनले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गराउने गरी सांसदहरुसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदुषणलाई न्युनिकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे ।

उनले भने, ‘पार्लियामेण्टमा हामी दर्ता गर्दैछौं । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेश गर्छौं । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । त्यस अनुसार हामी पार्लियामेण्टका मेम्बरहरुसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौं । र, हाम्रो के विश्वास छ भने यो विधेयकले ऐनको रुप लिइसकेपछि अब ऊर्जा क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि, प्रशारण लाइनलाई थप बिस्तार र व्यवस्थित गर्नका लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउनका लागि, गुणस्तरीय बनाउनका लागि र यसको निर्यातलाई व्यवस्थित गर्नका लागि मद्दत गर्नेछ । र, यस क्षेत्रको विकासका लागि र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ अहिलेको विद्युत विधेयक भन्ने हामीले विश्वास लिएका छौं ।’


क्लिकमान्डु