कोशी प्रदेश सरकारविरूद्धको मुद्दामा आज सुनुवाइ



काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्दव थापाविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि मत दिएका थिए । त्यसपछि एमाले सर्वोच्च गएको थियो । सर्वोच्चले भदौ ७ गते सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ । सर्वोच्चले मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन पनि आदेश दिएको थियो । सोही अनुसार आज सुनुवाइ हुन लागेको हो ।

यसअघि पनि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो ।


क्लिकमान्डु