यी हुन् वर्षमा १ अर्बभन्दा बढी कारोबार गर्ने १४ पेट्रोल पम्प



काठमाडौं । गत आर्थिक बर्षमा अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने पेट्रोल पम्पको संख्या १४ पुगेको छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा भने यस्तो पम्पको संख्या ५ मात्रै थियो ।

नेपाल आयल निगमकाअनुसार देशभरको पम्पहरुमध्ये १४ वटा पम्प सर्वाधिक कारोबार गर्ने सूचीमा दरिएको हो । विगतमा इन्धन कारोबारमा प्रहरी, शसस्त्र, सेना र सहकारी पम्पहरुको बाहुल्यता थियो ।

निगमको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा देशभरमै सबैभन्दा बढी धादिङको भैरवी इन्टरप्राइजेजले पेट्रोल र डिजेलको कारोबार गरेको थियो ।

नेपाल आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसालका अनुसार भैरवीले उक्त आर्थिक बर्षमा १ अर्ब ७९ करोड ४० लाख ११ हजार रुपैयाँबराबरको पेट्रोल र डिजेल खरिद गरि बिक्री गरेको थियो ।

अघिल्लो आर्थिक बर्षमा अत्याधिक इन्धन बिक्री गर्ने पम्पहरुको सुचीमा ५ नम्बरमा पनि नपरेको भैरवीेले गत आर्थिक वर्षमा भने देशभरमै सबैभन्दा बढी इन्धनको कारोबार गरेको हो । देशभर १ हजार ५ सयभन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन् ।

भुसालकाअनुसार भैरवीले गत आर्थिक बर्षमा दैनिक १२ हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल खरिद गरि कारोबार गरेको थियो । त्यो बर्षमा भैरवीले कूल १ करोड ८ लाख ६१ हजार ९ सय ५७ लिटर पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।

‘यसमध्ये ८० प्रतिशतका दरले ८७ लाख ५४ हजार ३७ लिटर डिजेल बिक्री गरेको थियो,’ भुसालले भने ।

टंक श्रेष्ठले सञ्चालन गरेको उक्त भैरवी इन्टरप्राइजेजले सडक तथा भवन निर्माण र जलविद्युत् गृहलाई थोक परिमाणमा डिजेल उपलब्ध गराउँदै आएकाले कारोबार सबैभन्दा बढी देखिएको हो ।

‘धादिङको सदरमुकाम धादिङबेसीमा मेरो मात्रै पम्प भएकाले पनि कारोबार अत्याधिक देखिएको हो,’ श्रेष्ठले क्लिकमान्डुसँग भने ।

अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा श्रेष्ठले ९८ करोडको मात्रै कारोबार गरेका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी कारोबार गरेका कारण उनको पम्प देशभरमै सर्वाधिक कारोबार गर्ने पम्पमा दरिएको हो ।

यसअघि देशभरमै सर्वाधिक कारोबार गर्ने पम्पहरुको सूचीमा अग्रस्थानमा रहेको पथलैयास्थित नेपाल प्रहरीको ‘प्रहरी कल्याण केन्द्र’ गत आर्थिक वर्षमा भने दास्रो नम्बरमा आइपुगेको छ । यो पम्पले मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जबाट १ अर्ब ७५ करोड ७३ लाख १८ हजार रुपैयाँबराबरको डिजेल खरिद गरि कारोबार गरेको थियो । यो पम्पले डिजेलमात्रै बिक्री गर्दैआएको छ ।

सर्वाधिक कारोबारको दृष्टिकोणले तेश्रो नम्बरमा नेपाली सेनाको काठमाडौंको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल स्टेशन आइपुगेको छ । यो पम्प अघिल्लो आर्थिक बर्षमा कारोबारको हिसावले दोश्रो नम्बरमा थियो । रिपुमर्दिनीले १ अर्ब ७५ करोड ६७ लाख ९५ हजार रुपैयाँको इन्धन खरिद गरि कारोबार गरेको थियो ।

आर्थिक बर्ष २०७८/७९ मा देशभर १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने जम्मा ५ वटा पम्पहरु मात्रै पुगेका थिए ।

निगमकाअनुसार कारोबारको रकम वृद्धि भएको देखिएपनि पेट्रोल र डिजेलको बिक्री परिमाण भने घटेको छ । इन्धनको मूल्य वृद्धि भएका कारण कारोबारको रकम बढी देखिएको भुसालले जानकारी दिए ।


क्लिकमान्डु