पेट्रोलियम व्यवसायी विभाजित, संघले सुरु गर्‍यो इन्धन ढुवानीमा बीमा



काठमाडौं । पेट्रोलियम व्यवसायी संघले नेपाल आयल निगमको डिपोबाट गन्तव्यसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुन सक्ने सम्भावित जोखिमको बीमा गर्न सुरु गरेको छ । संघले नेको इन्सुरेन्सको सहकार्यमा ढुवानी बीमा सुरु गरेको हो ।

संघका महासचिव आत्माराम थापाकाअनुसार वास्तविक लागत खर्चको आधारमा इन्धन बिक्रेताले बीमा शुल्क वापत उपलब्ध गराउने रकमको भ्याटसहितको बिलसमेत प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यो सुविधा संघमा आवद्ध इन्धन बिक्रेताले मात्रै सदुपयोग गर्न पाउने थापाको भनाइ छ ।

बीमा शुल्क विवादले टुक्रिए पेट्रोलियम व्यापारी

पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन फुटेको छ । बीमा शुल्क वापत बढी रकम उठाइएको रकमको बिषयमा विवाद हुँदा देशभरको पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन टुक्रिएको हो ।

निगमको डिपोहरुबाट गन्तव्यसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुन सक्ने सम्भावित क्षतिको विषयमा गरिने बीमावापतको शुल्कको विषयमा एसोसिएसनमा आन्तरिक विवाद चुलिएको थियो ।

यहि विवाद उत्सर्गमा पुगेपछि असन्तुष्ट पक्षधरले छुट्टै संस्था गठन गरि अस्तित्वमा ल्याएको छ । एसोसिएसनबाट मतभिन्नता जनाएर केदारप्रसाद पाठकको अध्यक्षतामा ९ सदस्यीय पेट्रोलियम व्यवसायी संघ नेपाल गठन भएको छ ।

संघको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र गुप्ता, आत्माराम थापा, प्रविण नायभा श्रेष्ठ र सिता केसी चयन भएका छन् । यस्तै सदस्यहरुमा पुण्यराम बखाड्यो, उमेश बानियाँ, अनिश खत्री र अशोक गुरुङ छनोट भएका छन् ।

अस्तित्वमा आएको संघका महासचिव आत्माराम थापाले एसोसिएसनले आफ्नो नाममा ‘चिर्कटो’ को भरमा बीमा बापत लागतभन्दा बढी शुल्क उठाएको आरोप लगाए ।

‘केही गम्भीर विषयमा मतभिन्नता भएपछि हामी छुट्टिएर छुट्टै संघ गठन गरि सञ्चालनमा ल्याएका छौं,’ थापाले क्लिकमान्डुसँग भने,‘एसोसिएसनले आफ्नो नाममा इन्धन बिक्रेतासँग वास्तविक लागतभन्दा बढी रकम बीमा शुल्कवापत असुल गर्दै आएको थियो । त्यसवापत बिक्रेताले पाउनुपर्ने भ्याटबिल सहितको बीमा रसिद नपाउने अवस्था थियो ।’

एसोसिएसनको उक्त व्यवस्था अपारदर्शी भएको दाबी गर्दै थापाले सञ्चालनमा आएको संघले बीमा वापत वास्तविक शुल्कसहित भ्याट बिल इन्धन बिक्रेतालाई उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

‘हामीले नेको इन्सुरेन्स कम्पनीसँग बीमा सहकार्य गरेका छौं,’ थापाले भने,‘वास्तविक लागतअनुसारको शुल्क उठाएर सम्बन्धित बिक्रेतालाई भ्याटसहितको बिल उपलब्ध गराउने प्रणाली सुरु गरेका छौं । यो प्रणालीका कारण धेरै हदसम्म इन्धन बिक्रेतालाई राहत भएको छ ।’

एसोसिएसनले पनि सुधार गर्‍यो शुल्क

उता नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि बीमा शुल्कमा सुधार गरेको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग सहकार्य गरेको एसोसिएसनले मंगलबारदेखि वास्तविक लागत खर्चको आधारमा बीमा शुल्क निर्धारण गरि कार्यान्वनयमा ल्याएको छ ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानकाअनुसार गत शनिबार बसेको एसोसिएसनको बैठकले बीमा वापतको शुल्क घटाउने निर्णय गरेको छ । जसअनुसार सैकडामा ०.०६७८ प्रतिशतले प्राप्त हुने रकमलाई बीमा शुल्क तोकिएको छ । यो शुल्क बुझाउने इन्धन बिक्रेतालाई भ्याटसहितको बिलसमेत उपलब्ध गराउने निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा ल्याइएको एसोसिएसनका अध्यक्ष प्रधानले बताए ।

एसोसिएसनले विगतमा बीमा शुल्कतर्फ ०.०८ प्रतिशतसम्म रकम असुल गर्दै आएको थियो । यसवापत बिक्रेतालाई उपलब्ध गराउनुपर्ने भ्याट बिलसहितको रसिद भने बिक्रेताले नपाउने अवस्था थियो । अध्यक्ष प्रधानले पनि पछिल्लो समयमा ०.०८ प्रतिशत रकम बीमा शुल्क वापत उठ्दै आएको स्वीकार गरे । ‘विगतमा यहि दरले शुल्क रकम उठेको हो,’ प्रधानले भने,‘तर हामीले उक्त शुल्कको विवाद समाधान गरि वास्तविक लागतको आधारमा नयाँ शुल्क दर तोकेको छौं ।’

प्रधानकाअनुसार यसअघि ०.०८ प्रतिशतका दरले रकम असुल हुँदा भ्याटसहित ०.०६७८ प्रतिशतले हुन आउने रकम राष्ट्रिय बिमा कम्पनीमा नियमित रूपले दाखिला हुँदै आएको थियो ।

बाँकी रहेको ०.०१२२ प्रतिशतले हुन आउने रकमको ६६ प्रतिशत रकम जिल्ला संगठनहरुलाई प्रशासनिक खर्चका लागि पठाउने व्यवस्था विगतमा रहेको उनले बताए । ०.०१२२ प्रतिशतले हुन आउने रकमको पनि ३४ प्रतिशत हुन आउने रकम भने केन्द्रीय कार्यालयको प्रशासनिक खर्चमा प्रयोग भइरहेको प्रधानको दाबी छ ।


क्लिकमान्डु