स्मार्ट टेलिकमको भ्यालुएटरका लागि चौथो पटक आवदेन माग



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको भ्यालुएटरका लागि चौथो पटक आवदेन माग गरेको छ । तीन पटकसम्म आवेदन माग गर्दा पनि योग्य आवेदक नभेटिएपछि प्राधिकरणले बुधबार फेरि आवेदन माग गरेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरी कम्पनीको भ्यालुएसनका लागि आवश्यक पाँचै पदका लागि आवेदन माग गरेको छ ।

प्राधिकरणले यसअघि २०८० वैशाख २२ गते १५ दिनको समय दिएर आवेदन माग गरेको थियो । त्यस अवधिमा एक पदका लागि मात्रै आवेदन परेपछि प्राधिकरणले जेठ ८ गते अर्को पटक सूचना जारी गर्‍यो । त्यसबेला पनि चार पदका लागि मात्रै आवेदन पर्‍यो । सूचना प्रविधि विज्ञका लागि आवेदन परेन ।

तेस्रो पटक सूचना जारी गरी सूचना प्रविधि विज्ञका लागि पुन: आवेदन माग गर्दा पनि योग्य आवेदकबाट आवेदन नपरेको प्राधिकरणले जनाएको छ । त्यसपश्चात भने फेरि पाँचै पदका लागि बुधबार आवेदन माग गरिएको हो ।

प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन समितिको संयोजकका लागि सूचीकृत भ्यालुएटर भई कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी शैक्षिक उपाधि हासिल गरी कम्तीमा १५ वर्ष लेखा परीक्षकको रूपमा काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापन क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ ।

यस्तै मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए शैक्षिक उपाधि हासिल गरेको एक जना, सूचीकृत सम्पत्ति भ्यालुएटर एक जना, सूचना प्रविधि वा दूरसञ्चार क्षेत्रको विज्ञ एक जना र कानुन वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्ष कार्यानुभव हासिल गरेको एक जना समितिमा सदस्यको रूपमा रहनसक्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

भ्यालुएटरलाई सरकारी, भेन्डरलगायतको गरी करिब २८ अर्ब दायित्व रहेको स्मार्ट टेलिकमको सम्पत्ति र दायित्वको मूल्य निर्धारण गर्ने जिम्मेवारी दिइनेछ । प्राधिकरणले मूल्य निर्धारणका आधारमा सम्पत्ति र दायित्वको लिलाम बढाबढ गर्ने जनाएको छ ।

सरकारी बाँकी बक्यौता नबुझाएको तथा लाइसेन्ससमेत नवीकरण नगरेको स्मार्ट टेलिकमको लाइसेन्स दूरसञ्चार ऐनअनुसार वैशाख ३ गते स्वतः खारेज भइसकेको छ ।


रवि धिताल