लघुवित्तको नाफा ४४ प्रतिशतले घट्यो, अधिकाशंको अवस्था निराशाजनक
काठमाडौं । सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुले असार मसान्तमा निष्काशन गरेको वित्तीय अवस्था ज्यादै निराशाजनक रहेको छ ।
सञ्चालनमा रहेका ५५ कम्पनीले असार मसान्तसम्म ५ अर्ब ९ करोड ३१ लाख ६२ हजार रुपैयाँ नाफा कमाए पनि अघिल्लो आवको असार मसान्तको तुलनामा ४४.६८ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा ९ अर्ब २० करोड ८२ लाख २३ हजार नाफा कमाएका थिए ।
५५ वटा कम्पनीका ९ वटा नाफामा गएका छन् भने ५ वटा कम्पनी ऋणात्मक रहेका छन् । यता ४१ वटा कम्पनीको नाफा घटेको छ ।
नाफा कमाउनेमा साना किसान विकास लघुवित्त, छिमेक लघुवित्त, स्वाबलम्बन लघुवित्त, ग्रामिण विकास लघुवित्त, समाज लघुवित्त, आरएसडिसी लघुवित्त, किसान लघुवित्त, सपोर्ट माइक्रोफानान्स र वन नेपाल लघुवित्त रहेका छन् ।
असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ। छिमेकले १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा आर्जनमा १ अर्बपति क्लबमा छिमेकमात्रै रहेको छ । धेरै नाफा कमाउने दोस्रोमा साना किसान लघुवित्त रहेको छ । साना किसानले ८१ करोड ४१ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ ।
असार मसान्तसम्म ऋणात्मक रहेका कम्पनीमा लक्ष्मी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, जाल्पा सामुदायिक लघुवित्त, आरम्भ चौतारी लघुवित्त, धौलागिरी लघुवित्त रहेका छन् । अघिल्लो आवको असार मसान्तमा यी कम्पनीहरु नाफामा भएपनि अहिले भने ऋणात्मक बनेका छन् ।
अर्थतन्त्रमा देखिएको संकुचनको असरसँगै लघुवित्तले चर्को ब्याजदर लिएको भन्दै लघुवित्त विरोधन अभियान नै सञ्चालन भएपछि त्यसको प्रभाव नाफामा देखिएको हो ।