४८ जना मात्रै जागिर छाड्न तयार भएपछि प्रभु बैंकले भिआरएसको समय थप्यो



काठमाडौं। प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) को समय थप गरेको छ । साउन तेस्रो साता १० दिनजका लागि ल्याएको भिआरएस योजनामा बैंक व्यवस्थापनले सोचेभन्दा धेरै कमले मात्रै आवेदन दिएपछि ७ दिन समय थपेको हो ।

बैंक स्रोतका अनुसार जम्मा ४८ जना कर्मचारीले मात्रै जागिर छाड्न आवेदन दिएका थिए । बैंक व्यवस्थापनले डेढदेखि दुई सय जना कर्मचारी भिआरएसमा सहभागी हुने अनुमान गरेको थियो ।

‘व्यवस्थापनले सोचेभन्दा निक कमले मात्रै जागिर छाड्न आवेदन दिएपछि समयावधि थपिएको हो,’ बैंकको उच्च व्यवस्थापनमा कार्यरत एक अधिकारीले भने ।

बैंकमा ३५०० को हाराहारीमा कर्मचारी छन् । बैंकले दुई वर्षसम्मको सेवा सुविधासहित भिआरएस योजना ल्याएको हो।

२०७९ पुस २२ मा प्रभुले तत्कालीन सेन्चुरी कमर्सियल बैंक प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो। मर्जपछि कर्मचारी संख्या धेरै हुँदा बैंकले भिआरएस योजना ल्याएको हो ।

बैंकले भिआरएस योजना ५ वर्षभन्दा कम जागिर भएका सहायक प्रबन्धकका लागि २० महिनाको कूल तलब र ५ वर्षमाथि जागिर भएकालाई २४ महिनाको कूल तलब दिने जनाएको छ ।

त्यस्तै अधिकृत तहमा तीन वर्षमाथि जागिर खानेलाई २० महिनाको कूल तलब दिने घोषणा गरिएको छ ।


क्लिकमान्डु