साउनमा बढ्यो घरजग्गाको कारोबार, चार गुणाले बढ्यो कित्ताकाट



काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार २०७९ साउनको तुलनामा ०८० साउनमा घरजग्गाको कारोबार बढेको हो ।

गत वर्षको साउनमा बैंकिंग प्रणालीमा लगानी योग्य पुँजीको चरम अभाव थियो । यो साउनमा बैंकहरुसँग फालाफाल तरलता छ । बैंकहरुले घर कर्जाका आकर्षक स्किमहरु पनि ल्याइरहेका छन् । यसको प्रभावका साथै करिब २ वर्षदेखि पर्ख र हेरको अवस्थामा रहेकाहरु पनि नयाँ आर्थिक वर्ष लागेसँगै कारोबारमा सक्रिय भएको हुनाले चहलपहल बढेको व्यवसायीहरु बताउँछन् ।

विभागको तथ्यांकअनुसार यो साउनमा ३९ हजार २६३ घरजग्गाको किनबेच भएको छ । गत आवको साउनमा ३३ हजर ८३४ घरजग्गाको किनबेच भएको थियो ।

विभागकाअनुसार सबैभन्दा धेरै घरजग्गाको किनबेच भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । यहाँबाट २ हजार २५७ घरजग्गाको किनबेच भएको छ ।

०८० असारको तुलनामा भने ११. ७३ प्रतिशत कम घरजग्गा किनबेच भएको हो । असारमा ४४ हजार ४८५ घरजग्गाको किनबेच भएको थियो । असारको तुलनामा साउनमा स्वाभाविकरुपमै घरजग्गाको कारोबार कम हुने गर्छ ।

२ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन

कारोबारमा बृद्धि हुँदा घरजग्गा क्षेत्रबाट सरकारले संकलन गर्ने राजस्व पनि बढेको छ ।

गत वर्ष साउनमा ३३ हजर ८३४ घरजग्गा किनबेच हुँदा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ रुपैयाँ राजस्व संकलन भएको थियो । यो साउनमा भने २ अर्ब ९१ करोड ४ लाख २७ हजार १९६ रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै राजस्व संकलन भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरबाट भएको छ । त्यहाँबाट २३ करोड ७४ लाख ३० हजार ६७३ रुपैयाँ राजस्व संकलन भएको छ ।

देशभरका मालपोल कार्यालयबाट संकलित राजस्वमध्ये सेवाकर २१ करोड ६६ लाख ७९ हजार रहेको छ । त्यस्तै, रजिस्ट्रेसन दस्तुर १९ करोड ५३ लाख ५७ हजार रहेको छ । देशभरका मालपोल कार्यालयबाट ३० करोड २५ लाख ७२ हजार १५५ रुपैयाँ भने छुट दिइएको विभागको तथ्यांकले देखाउँछ । पुँजीगत लाभ कर भने १ अर्ब १ करोड ३१ लाख ३२ हजार रुपैयाँ उठेको छ ।

चार गुणाले बढ्यो कित्ताकाट

आर्थिक वर्षको पहिलो महिनामा कित्ताकाट पनि बढेको छ ।

साउनमा ३५ हजार २९१ जग्गाको कित्ताकाट भई ७७ हजार ६८ कित्ता कायम भएको छ । गत साउनमा ८ हजार ६८५ कित्ताकाट भइ १५ हजार ३०५ कित्ता कायम भएको थियो ।

त्यस्तै, अघिल्लो महिना असारमा ४२ हजार ४९४ कित्ताकाट भई १ लाख ३६ कित्ता कायम भएको थियो ।

साउनमा भएको कित्ताकाट मध्ये सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । त्यहाँबाट २ हजार ७३ कित्ताकाट भइ ४ हजार ८०४ कित्ता कायम भएको छ ।

त्यस्तै, मालपोत कार्यालय कलंकी काठमाडौंबाट ४६१ कित्ताकाट भइ ११०३ कित्ता कायम भएको छ भने मालपोत कार्यालय साँखु काठमाडौंबाट ३७३ कित्ताकाट भइ ९०४ कित्ता कायम भएको छ ।


क्लिकमान्डु