वाणिज्य बैंकहरु ब्याज बढाउने प्रतिस्पर्धामा उत्रिएपछि विकास बैंकले पनि बढाए ब्याजदर



काठमाडौं । वाणिज्य बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएपछि विकास बैंकहरुले पनि ब्याजदर बढाएका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै साउन १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुको छाता संगठनले नेपाल बैंकर्स संघले भद्र सहमति खारेज गर्दै आफ्नो आवश्यकता अनुसार बैंकलाई ब्याजदर निर्धारण गर्न स्वतन्त्र छाडेको थियो ।

बैंकहरुले ब्याजदर घटाउने आँकलन गर्दै संघले भद्र सहमति खारेज गरेको थियो । तर, केही बैंकले साउनको ब्याजदर घटाएका थिए भने केही बैंकले बढाएका थिए । भदौमा लागू हुने ब्याजदरमा धेरै बैंकले ब्याजदर बढाएका छन् । त्यसको प्रभाव विकास बैंकहरुमा पनि परेको छ ।

साउनको ब्याजदरमा संयमित हुँदै ब्याजदर केही घटाउने भद्र सहमति गरेको डेभलपमेन्ट बैंकर्स एशोसिएशनले भदौ १ गतेदेखि लागू हुने ब्याजदर भने बढाएको छ।

‘वाणिज्य बैंकहरुले नै विकास बैंकको भन्दा बढी ब्याजदर दिएर ब्याज बढाउने प्रतिस्पर्धामा उत्रिएपछि हामी ब्याजदर बढाउन बाध्य भयौं,’ डेभलपमेन्ट बैंकर्स एशोसिएशनका एक पदाधिकारीले क्लिकमान्डुसँग भने । संघले अनुसार साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.१० प्रतिशत ब्याजदर दिएका विकास बैंकहरुले भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

असारमा विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.६० प्रतिशत ब्याज दिएका थिए ।

‘साउनमा हामी संयमित भएर ब्याजद घटाएका थियौं । तर, वाणिज्य बैंकहरुले नै ब्याजदर बढाएपछि हामी पनि भदौको ब्याजदर बढाउन बाध्य भएका हौं ।’ एक विकास बैंकका सीइओले भने, ‘अहिले ब्याजदर घटाउने बेला थियो । तर, बैंकहरुले उल्टो बढाइरहेका छन् ।’

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र दोहोरो अंकको ब्याजदरका कारण कर्जाको माग नभएको अवस्थामा बैंकहरुले ब्याजदर बढाएर लागत मात्रै बढाएको सीइओहरुको टिप्पणी छ ।

विकास बैंकहरुले भदौ महिनामा एक वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेमा अधिकतम ११.१५ प्रतिशत, एक वर्षभन्दा कमकोमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिनेछन् ।

त्यस्तै, एक वर्षभन्दा बढीको संस्थागत मुद्दति निक्षेपमा अधिकतम ९.१५ प्रतिशत र एक वर्षभन्दा कमकोमा ९.०५ प्रतिशत ब्याजद निर्धारण गरेका छन् । त्यस्तै, बचतमा न्यूनतम ६.१५ प्रतिशत ब्याजदर दिनेछन् ।

क्षेत्रियस्तरका विकास बैंकहरुले भने यसमा ०.२५ प्रतिशत बढी ब्याजदर दिन सक्नेछन् ।

बैंकहरुले भदौको ब्याजदर बढाएका कारण असोज महिनादेखि कर्जाको ब्याजदर पनि महंगो भएको छ ।


क्लिकमान्डु