नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्नसक्छ: ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच भेटवार्ता भएको छ । 

भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराएका थिए ।

पर्यटन प्रवर्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेको समेत उनले बताए । अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि आग्रह गरे ।

महासंघले साना उद्यमशीलता प्रवर्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि दूतावासले सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । यसैगरी नेपालमा चिनियाँ बैंक आउनसक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष ढकालले लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पहल गर्न पनि चीन सरकारसँग आग्रह गरे । भेटका क्रममा राजदूत सोङ्ले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको उनले जानकारी गराए ।

नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था पनि गरिनुपर्ने राजदूत सोङ्को भनाइ छ । लगानीकर्तालाई नीतिगत स्थायित्व एवं सहज व्यवहार आवश्यक रहने भन्दै चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङले प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा राजदूत सोङ्ले तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि गराएका थिए ।


रवि धिताल