धानखेत मासेर कागतीखेती



दाङ । लमही नगरपालिका-७ हस्नापुरका मधु गिरीले एक बिघा धान खेत मासेर व्यावसायिक कागतीखेती गर्न थालेको २ वर्ष भयो । पहिले धानले भरिने उनको खेत यतिबेला कागतीका बिरुवाले छपक्कै ढाकेको छ ।

धानखेतीका बेला सधैंजसो मलको हाहाकार हुने, भनेका बेलामा सिँचाइ सुविधा नमिल्ने र जेनतेन उत्पादन भएको धानले पनि मूल्य नपाउने जस्ता समस्याले तनाव दिएपछि उनी कागतीखेतिमा लागेका हुन् ।

‘सिँचाइ सुविधा नभएको ठाउँमा धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनतअनुसारको कमाइ पनि थिएन,’ उनी भन्छन्, ‘त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।’ उनको बारीमा अहिले लटरम्म कागती फलेका छन् । २०७८ सालबाट कागतीखेती सुरु गरेका उनले गत वर्षदेखि नै उत्पादन लिन थालेका छन् ।

‘कागतीलाई बजार नपाइएला भन्ने पिर पनि छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन,’ उनले भने, ‘कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।’ उनले करिब २ सय कागतीका बोटबाट वार्षिक ४ लाखसम्म आम्दानी लिइरहेका छन् । बाँकी खेतमा पनि कागतीका बेर्ना थप गर्नेमा तयारी उनको छ ।

गिरीजस्तै लमही नगरपालिका-८ सतबरिया गोजेनाका राजकुमार खड्का पनि व्यावसायिक कागतिखेती गर्छन् । सरकारी सेवाबाट निवृत्त भएका खड्काको दिनचर्या कागती रेखदेखमै बित्ने गरेको छ ।

उनले पनि २ बिघा धानखेत मासेर कागतीखेती सुरु गरेका छन् । जागिरे हुँदा विभिन्न स्थानका फलफूलखेतीको अनुगमन र अवलोकन गरेका खड्का व्यावसायिक बन्न चाहने किसानको प्रेरणाका लागि कागतीखेती सुरु गरेको बताउँछन् । उनको खेतमा अहिले करिब ४ सय कागतीका बोट छन् ।

कृषि प्राविधिकसँगको परामर्शमा व्यवसाय सुरु गरेका खड्काले धानखेतीसँगै कागतीखेती पनि गर्दै आएका छन् । कागतीबाट राम्रो आम्दानी हुन थालेपछि विस्तारै धानखेती मास्दै जाने उनको योजना छ । ‘अहिले खेतका आलीमा कागतीका बेर्ना हुर्कंदै छन्,’ खड्काले भने, ‘कति त सानैमा पनि फल्न थाले अब यो सालको धान काटेर पुरै खेतमा लगाउनुपर्ला ।’

गिरि र खडका मात्र होइन, दाङमा व्यावसायिक रुपमा कागतीखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला सामान्य घरायसी प्रयोजनका लागि दुई-चार बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागतीखेती गर्न थालेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार दाङमा २ वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टर पुगेको छ ।

अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिक टन कागती उत्पादन भइरहेको छ भने अन्यत्र बिरुवा हुर्किरहेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए ।

‘कागतीमा राम्रो आम्दानी देखेपछि किसानले जथाभावी बिरुवा लगाउन थालेका छन्, यसले समस्या पनि बढाएको छ, कागती भनेर लगाउँछन्, अरुथोक नै फल्छ,’ उनले भने, ‘तर हामीसँग परामर्श गरेर खेती गर्ने किसानले राम्रो लाभ लिइरहेका छन् ।’


रवि धिताल