मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख राजस्व संकलन
जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० एक करोड ८१ लाख ५० हजार आठ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ ६४ लाख ६ हजार पाँच सय ९८ र विविध शीर्षकअन्तर्गत पाँच लाख ७३ हजार चार सय ४० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।
राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ ।
आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।