गुठिचौरमा रक्सी पिउन कार्ड अनिवार्य, नियम तोडे खानेलाई २ हजार, बेच्नेलाई १० हजार जरिवाना
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी पिउन मदिरा सेवन कार्ड लिनुपर्ने भएको छ । गाउँपालिकाले मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास गर्दै यो नियम कार्यान्वयनमा ल्याएको हो ।
यससँगै रक्सी सेवन गर्नेहरुले २०८० साउनभित्रै कार्ड लिइसक्नुपर्नेछ । गाउँपालिकाले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्नेछ । कार्यविधिअनुसार गाउँपालिकामा सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा ५ सय मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइनेछ ।
त्यस्तै रक्सी पसलमा अन्य सामान राख्न पाइने छैन । इजाजत पत्र प्राप्त गरेका बिक्री पसलले आफूले बिक्री गरेको मदिराको अभिलेख दुरुस्त राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
मदिरा होलसेलले बिहान ७ बजेदेखि ५ बजेसम्म र खुद्रा पसलले बेलुका ६ बजेदेखि राति ९ बजेसम्म मात्र रक्सी बिक्री गर्न पाउनेछन् ।
गाउँपालिकामा लाइसेन्स लिएकाहरुलाई पनि मनपरी रक्सी पिउन दिइने छैन । रक्सी सेवनकर्ताले दैनिक १८० मिलिलिटर रक्सी वा बियरको हकमा १ बोतल मात्र सेवन गर्न सक्नेछन् ।
रक्सी सेवन कार्डको मूल्य वार्षिक ५ सय र नवीकरण शुल्क ५ सय रुपैयाँ तोकिएको छ । अतिथि कार्डका लागि प्रत्येक दिन १ सय रुपैयाँ शुल्क लाग्नेछ ।
गाउँपालिकाको नियम नमान्नेलाई जरिवाना पनि तिराउने कार्यविधिमा उल्लेख छ । नियम उल्लंघन गर्नेलाई पहिलो पटक १ हजार जरिवाना लाग्नेछ भने सोही व्यक्तिले पटक-पटक नियम तोडेमा हरेक पटक २ हजारका दरले जरिवाना बढ्दै जानेछ ।
मदिरा विक्रेताले नियम उल्लंघन गरे भने पहिलो पटकलाई १० हजार र त्यसपछि पटकैपिच्छे २० हजारका दरले जरिवाना बढ्दै जाने सूचनामा उल्लेख छ ।