अटो कर्जामा पनि जोखिम भार पुनरावलोकन



काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा जोखिम भार कम गरेको छ । राष्ट्र बैंकले शुक्रबार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी २५ लाखसम्मको अटो कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेको हो ।

सानो स्केलको अटो बिक्रीमा कर्जा लगानी बढोस् भन्ने उद्देश्यले जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

२५ लाखभन्दा बढीको अटो कर्जामा भने हाल रहेको १५० प्रतिशतको जोखिम भार कायम नै छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारको व्यवस्था परिमार्जन गर्ने उल्लेख थियो ।

राष्ट्र बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५/२००७ को ३.३ को i को ७ संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।


क्लिकमान्डु