भारतीय बजार केन्द्रित विद्युतीय गाडी ल्याउने टेस्लाको योजना, मूल्य ३२ लाख पर्ने



एजेन्सी । विश्व चर्चित विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाले भारतीय बजारलाई केन्द्रित गर्दै बेग्लै गाडी ल्याउने योजना बनाएको छ । टेस्लाले भारतीय बजार केन्द्रित हुनेसँगै निर्यातका लागि नयाँ गाडी ल्याउने योजना बनाएको हो ।

रोयटर्सको एक रिपोर्टकाअनुसार टेस्लाले यो गाडीलाई ३२ लाख नेपाली रुपैयाँ (२० लाख भारतीय रुपैयाँ) मूल्यमा ल्याउने योजना बनाएको छ । टेस्लाका प्रतिनिधिहरुले यहि महिना भारतका वित्त मन्त्री पीयूष गोयलसँग भेटर्वाता गरेर ‘बजेट’ मूल्यमा विद्युतीय गाडी भारतमै उत्पादन गर्ने तयारी गरेको छ ।

टेस्लाले भारतमा नै स्थानीय उत्पादन कारखाना स्थापना गर्न चाहिरहेको छ । प्रस्ताविक कारखानाबाट भारतीय बजारका लागि उपयुक्त हुने र मूल्य पनि सोही अनुसार हुने विद्युतीय सवारी उत्पादन गरेर माग पुरा गर्ने मात्रै नभएर यसलाई निर्यात गर्नका लागि हबका रुपमा पनि स्थापना गर्ने टेस्लाको तयारी रहेको छ । रोयटर्सको रिपोर्टकाअनुसार २० लाख भारतीय रुपैयाँको यो विद्युतीय गाडी टेस्लाका लागि भारतीय बजारमा गेमचेन्जर हुने बताइएको छ ।

बिजनेस टुडेको रिपोर्टकाअनुसार हाल टेस्लाले दक्षिण भारत र गुजरालमा आफ्नो ‘गिगा फ्याक्ट्री’ स्थापना गर्ने सम्भावना रहेको छ । उक्त कारखाना अत्याधुनिक किसिमको हुने र प्रतिवर्ष लगभग ५ लाख गाडी बनाउने क्षमताको हुनेछ । गाडी उत्पादनका लागि कारखाना स्थापना गर्नेबाहेक हाल टेस्लाले भारतमा आफ्ना चार्जिङ पूर्वाधारको पनि स्थापना गर्न खोजिरहेको छ ।


क्लिकमान्डु