संघई परिवारको त्रिवेणी स्पाइनिङ मिल्सले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार



काठमाडौं । संघई परिवारको त्रिवेणी स्पाइनिङ मिल्स प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७० करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ८० करोड रुपैयाँ र सन् २०२० मा १ अर्ब ९० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् १९९५ मा स्थापना भएको कम्पनीले पोलिस्टर, भिस्कोस एण्ड एक्रिलिक/ब्लेन्डेड यार्न (धागो) उत्पादन गर्दै आएको छ। कम्पनीले वार्षिक १४ हजार ६८९ मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ ।

रामचन्द्र संघई अध्यक्ष रहेको कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १०६ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा धागोको उच्च माग भएकाले निर्यात ह्वात्तै बढेको कम्पनीको भनाइ छ । जसले गर्दा आम्दानी पनि बढेको छ । कम्पनीले सन् २०२२ मा ११.५३ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड ८९ लाख रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि १ अर्ब ७७ करोड १० लाख रुपैयाँ अर्थात् ए फोर रेटिङ पाएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी धागो उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार कच्चा पदार्थको मूल्य बढ्दा नाफा घटेको जनाएको छ ।

कम्पनी आयात तथा निर्यात व्यापारमा पनि संलग्न छ । कम्पनीले विशेषगरी उत्पादित धागो टर्की र भारतमा निर्यात गर्दै आएको छ । कम्पनीले व्यापार गरेकोमध्ये ७९ प्रतिशत हिस्सा निर्यातको छ ।

कम्पनीले आम्दानी गरेकोमा ५० प्रतिशत टर्कीले आयात गर्ने गरेको थियो । तर, टर्कीबाट माग नआउँदा सन् २०२४ को ६ महिनाको अवधिमा व्यापार घटेको उल्लेख छ ।

त्यस्तै, सरकारले धागो निर्यातमा प्रोत्साहन अनुदानको व्यवस्था गरेको छ । सरकारले निर्यात गर्ने धागोमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । उक्त व्यवस्थाले आगामी दिनमा निर्यात बढ्ने कम्पनीले अपेक्षा गरेको छ ।


क्लिकमान्डु