३५ दिनभित्र कर्जा रकम चुक्ता नगर्ने ऋणीलाई कालोसूचीमा राख्ने एमएडब्लू इन्भेष्टमेन्टको तयारी



काठमाडौं । एमएडब्लू इन्भेष्टमेन्ट प्रालिले हायर पर्चेज कर्जा लिएका कम्पनीहरुले ३५ दिनभित्र कर्जा रकम चुक्ता नगरे कालोसूचीमा राख्ने तयारी गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै १३ वटा कम्पनीलाई समयमै कर्जा रकम चुक्ता गर्न नआए कालोसूचीमा राख्ने जनाएको छ ।

हायर पर्चेज कर्जा प्रदान गर्न इन्भेष्टमेन्टबाट हायर पर्चेज कर्जा शिर्षकअन्तर्गत सवारी साधन खरिद गर्नको लागि कर्जा उपयोग गरेका ऋणीहरुलाई सो उपयोग गरेको कर्जाको साँवा, ब्याज तथा दस्तुरसमेत यस कम्पनीसँग गरेको शर्त कबुलियत बमोजिम समय समयमा तिर्न बुझाउन पर्ने थियो । तर, कर्जा रकम चुक्ता भुक्तान गर्ने सम्बन्धमा पटक–पटक मौखिक तथा लिखित रुपमा ताकेता तथा सार्वजनिक सूचना मार्फत् जानकारी गर्दा समेत उनीहरुले वेवास्ता गर्दै आएका थिए ।

कर्जा सम्बन्धमा ऋणीले कम्पनी समक्ष गरेको शर्त कबुलियतको बन्देजहरु उल्लंघन गरेकाले कर्जा रकम चुक्ता गर्नको लागि ३५ (पैतिस) दिने सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीमा सम्पर्क राखि कम्पनीबाट लिएको कर्जाको साँवा, ब्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न अनुरोध गरेको छ ।

उक्त म्यादभित्र ऋणीले आफूले लिएको कर्जाको साँवा, ब्याज र अन्य दस्तुर चुक्ता भुक्तान नगरेमा नेपाल राष्ट्र बैंक ऐन, २०५८, नेपाल राष्ट्र बैंकको नियम तथा विनियमहरु, कम्पनीको नियम तथा प्रचलित कानून बमोजिम यस कम्पनीसंग भए गरेको लिखत अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्ता समेतलाई कानूनी कारवाही गरी कम्पनीको लेना रकम धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरी असुल गर्ने जनाएको छ ।

त्यस्तै, कम्पनीले वित्तिय अनुशासन कायम गरि तोकिएको म्याद भित्र कर्जा रकम चुक्ता भुक्तान गर्न पुनः ऋणी धितो जमानतकर्ता र व्यक्तिगत जमानिकर्ताहरूलाई आग्रह गरेको छ । साथै उक्त ऋणी धितो जमानिकर्ता र व्यक्तिगत जमानिकर्ताहरूको नाम कालोसुचिमा समेत समावेश गर्ने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु