आर्थिक मन्दीले विश्वभर रियल इस्टेटको कारोबार घट्दा भारतमा भने बढ्यो
काठमाडौं । आर्थिक मन्दीले विश्वभर रियल इस्टेटको कारोबार घटेको छ । कोभिड-१९ ले गर्दा थलापरेको घरजग्गा बजार रुस र युक्रेनबीचको द्वन्द्वले थप थलिएको हो ।
दुई देशबीचको द्वन्द्वले अर्थतन्त्र समस्यामा छ । विश्वभर महँगी बढेको छ । अधिकांश देश आर्थिक मन्दीको चपेटामा परेका छन् । आर्थिक मन्दीले रियल इस्टेट क्षेत्रमा पनि उच्च प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।
लगातार उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र सम्झौता गरिएको श्रम बजारका कारण धेरै राष्ट्रहरू चुनौतीपूर्ण आर्थिक परिस्थितिबाट गुज्रिरहेका छन् । जसले गर्दा कोभिडपछि रियल इस्टेट क्षेत्रको कारोबारमा उच्च कमी देखिएको हो ।
आर्थिक मन्दीले विश्वभरका व्यावसायिक रियल इस्टेटको कारोबार कम भएको छ भने उद्योग, रिटेल र होटल क्षेत्रमा पनि प्रभाव परेको छ । बैंकहरुले पर्याप्त कर्जा प्रवाह गर्न नसकेको, कर्जा प्रवाहमा कडाइ र ब्याजदर वृद्धिले गर्दा रियल इस्टेट क्षेत्रको कारोबारमा चुनौती थपिएको छ ।
सन् २०२३ को पहिलो त्रैमासिकमा अमेरिकामा व्यावसायिक रियल इस्टेट क्षेत्रको कारोबारमा कमी आउँदा मूल्य नै घटेको छ । अमेरिकामा सन् २०११ पछि सन् २०२३ मा आिर्थक मन्दीले रियल इस्टेटको मूल्यमा गिरावट आएको छ । यस क्षेत्रमा १ प्रतिशतले मूल्य घटेपनि यसले बैंकिङ क्षेत्रको जोखिमलाई अगाडि ल्याएको उल्लेख छ ।
अमेरिकामा बैंकिङ क्षेत्रले ६० प्रतिशत अर्थात् ३.६ ट्रिलियन अमेरिकी डलर व्यावसायिक रियल इस्टेटमा कर्जा प्रवाह भएको छ । बैंकिङ क्षेत्रले विशेषगरी व्यावसायिक प्रयोजनका भवनहरु, टावरहरु, अपार्टमेन्ट र घरहरुमा कर्जा प्रवाह भएको छ । तर, आर्थिक मन्दीले गर्दा अधिकांशको आयको क्षमतामा कमी आउँदा अधिकांश समस्यामा परेका छन् ।
त्यसैगरी, अमेरिकामा भाडामा अफिस उपलब्ध गराउने क्षेत्रको व्यापार १९ प्रतिशतले घटेको छ । कोभिड भएदेखि नै भाडाका लागि उपलब्ध भएका खाली ठाउँहरुमा व्यवसायीहरुले चासो नदेखाउँदा व्यापारमा कमी आएको जनाएको छ ।
न्युयोर्क सहरमा कार्यालय भवनहरुको मूल्य ४० प्रतिशतदेखि ४५ प्रतिशतसम्म घटेको छ । अध्ययनअनुसारक कार्यालयहरुको भवनहरुको मूल्य घट्दा ५ सय अर्ब अमेरिकी डलर रकम गुमाउने अनुमान गरेको छ ।
तथ्यांकअनुसार एसिया प्यासिफिक, अमेरिका र बेलायतमा सन् २०२३ मा कारोबारमा कमी आएको देखाएको छ । आर्थिक मन्दीले मानिसमा क्रयशक्ति घट्दा विश्वभर रियल क्षेत्रमा लगानी र कारोबार घटिरहेको अवस्थामा भारतमा भने ह्वात्तै बढेको छ ।
भारतको रियल इस्टेट क्षेत्र हेर्ने हो भने बढेको अवस्था छ । अधिकांश देशमा आर्थिक मन्दीले रियल इस्टेट कारोबार घट्दा भारतमा भने कारोबारमा सकारात्मक देखिन्छ ।
भारत सरकारले सहरी क्षेत्रमा २ करोड ५० लाख हाउजिङ युनिट बनाउने प्रतिबद्धता जनाएको छ । भारतमा विभिन्न सेग्मेन्टमा घरजग्गाको विकास भइरहेको छ ।
भारतमा विशेषगरी आवास, अफिस, व्यावसायिक र रिटेल रियल इस्टेटमा उच्च लगानी बढेको छ । भारतीय अर्थतन्त्रमा घरजग्गा क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ६ देखि ७ प्रतिशत योगदान छ ।
भारतीय सरकारले आगामी सन् २०३० सम्ममा वायरहाउजिङ, लजिस्टिक, औद्योगिक पार्क, डाटा सेन्टर, विद्यार्थीको हाउजिङ, को-लिभिङ र व्यक्तिगत आवासीय घर निर्माणमा जोड दिई जीडीपीमा १८ प्रतिशत योगदान पुर्याउने लक्ष्य लिएको छ । भारतमा रियल इस्टेट क्षेत्रले सबैभन्दा बढी रोजगारी दिने दोस्रो स्थानमा छ ।
सन् २०२२ मा कच्चा पदार्थको मूल्य वृद्धि र ब्याजदर वृद्धि हुँदा पनि रियल इस्टेट क्षेत्रको कारोबार बढेको उल्लेख छ । अध्ययनअनुसार भारतमा सन् २०२३ को फब्रअरीमा मुख्य क्षेत्रमा रिटेलको मूल्य ६.४ प्रतिशतले बढेको थियो । जनवरीमा उक्त रिटेलहरुको मूल्य ७.८ प्रतिशतले बढेको थियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक वर्ष २०२४ मा ६.८ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ । सन् २०२२ मा मुख्य ७ सहरहरुमा ६८ प्रतिशतले घरजग्गाको कारोबार बढेको छ । जुन एक दशकपछि कै उच्च हो । त्यस्तै सन् २०२३ सम्ममा भारतीय रियल इस्टेट मार्केटमा १३ हजार करोड डलरको कारोबार हुने अनुमान गरेको छ ।
भारतको दक्षिण सहरहरु जस्तै चेन्नाई, बेन्ग्लुरु र हाइद्रवादमा आवासिय घरको माग उच्च रहेको उल्लेख छ । उक्त सहरहरुमा माग बढेसँगै १० प्रतिशतदेखि १५ प्रतिशतले बढी आयोजनाहरु सञ्चालनमा आएको जनाएको छ ।
अध्ययनमा सन् २०२३ मा २.६ ट्रिलियन भारतीय रुपैयाँको नयाँ आयोजना सम्पन्न र आउने तयारीमा रहेको छ ।
सन् २०२२ को जनवरीदेखि जुलाईसम्ममा निजी क्षेत्रले रियल इस्टेट क्षेत्रमा ३ अर्ब २७ करोड अमेरिकी डलर लगानी गरेका छन् । तर, सन् २०२२ को तुलनामा सन् २०२३ मा लगानी भने घटेको छ । अध्ययनअनुसमर सन् २०२२ को चार महिनाको अवधिको तुलनामा सन् २०२३ को पहिलो त्रैमासिकसम्ममा रियल इस्टेट क्षेत्रमा ९७ प्रतिशतले लगानी घटेको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा ४ करोड ५० लाख अमेरिकी लगानी गरेका छन् ।
विश्वव्यापस् मन्दीका कारण वितरक र खरिदकर्ताबीच मूल्याङ्कनमा फरक हुँदा कारोबारमा कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा संस्थागत रियल इस्टेट क्षेत्रमा ७ प्रतिशतले लगानी बढेको छ ।
सन् २०२१ को पहिलो ९ महिनामा संस्थागत रियल इस्टेट क्षेत्रमा २ अर्ब ९७ करोड ७० लाख अमेरिकी डलर लगानी भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ लगानी भएको थियो । त्यस्तै, सन् २०२२ को ९ महिनाको अवधिमा निजी क्षेत्रले ४ अर्ब १९ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन् ।
अहिले कोभिड अगाडि कै तुलनामा रियल इस्टेटको माग बढेको जनाएको छ । व्यावसायिक रियल इस्टेट र आवासीय क्षेत्रको तुलना गर्दा पछिल्लो ५ वर्षको अवधिमा व्यावसायिक क्षेत्रमा लगानी बढेको पाइन्छ ।
संस्थागत रियल इस्टेट क्षेत्रमा ३७ प्रतिशतले बढेर जनवरी र मार्चमा १ अर्ब ६५ करोड अमेरिकी डलर लगानी गरेका छन् । त्यसैगरी, अफिस र हाउजिङ एसेट्समा १ अर्ब २० करोड बढी लगानी भएको उल्लेख छ ।
भारतमा ६ वर्षको अन्तरालमा २६ अर्ब ६० करोड रुपैयाँ संस्थागत विदेशी लगानी रियल इस्टेट क्षेत्रमा भित्रिएको छ । विदेशी लगानीकर्ताले विशेषगरी अफिस प्रोपर्टीमा आकर्षण देखिएको छ भने आन्तरिक लगानीकर्ताको आकर्षण हाउजिङमा देखिएको छ ।
अफिस क्षेत्रमा ५५ प्रतिशत लगानी भइको छ भने २२ प्रतिशत आवासीय क्षेत्रमा लगानी भएको पाइन्छ । रियल इस्टेट अफिस सेक्टरमा ४१ प्रतिशतले लगानी बढेको छ । जसमा ६४ करोड ३६ लाख अमेरिकी डलरबाट बढेर ९० करोड ७६ लाख अमेरिकी डलर लगानी भएको छ ।
आवासीय क्षेत्रमा पनि लगानी बढेको छ । उक्त क्षेत्रमा १ करोड ६५ लाख अमेरिकी डलरबाट बढेर ३६ करोड ११ लाख रुपैयाँ लगानी भएको छ । उद्योग र वायरहाउजिङ क्षेत्रमा २० प्रतिशतले बढेर १७ करोड ९९ लाख अमेरिकी डलरबाट २१ करोड ६३ लाख अमेरिकी डलर लगानी भएको छ ।
त्यसबाहेक अन्य क्षेत्र डाटा सेन्टर, लाइफ साइन्स, एल्डर हाउजिङ, भ्याकेशन हाउस र स्टुडेन्ट हाउजिङ क्षेत्रमा ३ करोड ९८ लाख अमेरिकी डलरबाट बढेर १५ करोड ८२ लाख अमेरिकी डलर लगानी भएको छ ।
त्यसगरी, मिश्रित आयोजनामा भने लगानी घटेको छ । उक्त क्षेत्रमा ७ करोड ७३ लाख अमेरिकी डलर लगानी भएकोमा ८० प्रतिशतले घटेर १ करोड ५१ लाख अमेरिकी डलर मात्रै लगानी भएको उल्लेख छ ।
त्यस्तै, विश्वभर कार्यालय र औद्योगिक क्षेत्रमा लगानी घटेको अध्ययनले देखाएको छ । जसमा अहिले रियल इस्टेट क्षेत्रमा ७६ प्रतिशतले लगानी घटेको जनाएको छ । सन् २०२२ मा रियल इस्टेटमा लगानी भएकोमध्ये ५७ प्रतिशत विदेशी लगानीकर्ताले लगानी गरेका छन् । क्यानाडाका लगानीकर्ताले ३७ प्रतिशत र अमेरिका लगानीकर्ताको १५ प्रतिशत लगानी गरेको छन् ।
सन् २०२२ मा लगानी भएकोमध्ये आन्तरिक लगानीकर्ताले ४० प्रतिशत लगानी गरेका छन् । आन्तरिक संस्थागत लगानीकर्ताले लगानी गरेकोमध्ये ५१ प्रतिशत हिस्सा ओगटेको छ भने ३२ प्रतिशत डेभलपरहरुले लगानी गरेका छन् ।
कोभिडपछि अधिकांश मानिसहरुको बस्ने शैलीमा परिवर्तन हुँदा आवासीय घरको माग बढेको उल्लेख छ । सन् २०२२ मा आवासिय रियल इस्टेट क्षेत्रमा हालसम्मकै उच्च कारोबार भई नयाँ रेकर्ड कायम गरेको थियो ।
सन् २०२२ मा ६८ प्रतिशतले कारोबार थियो । त्यस्तै, सन् २०२३ मा पनि रियल इस्टेटको कारोबार बढ्ने अनुमान गरेको छ । सन् २०२३ को ३ महिनाको अवधिमा ७९ हजार १२६ युनिट घर बिक्री भएको उल्लेख छ । जसमा सन् २०२२ को तुलनामा १ प्रतिशतले कारोबार बढेको छ । साथै, कारोबार बढेसँगै मूल्य पनि ७ प्रतिशतसम्म बढेको छ ।
त्यस्तै, सन् २०२३ को तीन महिनाको अवधिमा भारतको मुख्य ७ वटा सहरहरुमा मात्रै आवासीय मार्केटको कारोबारमा १५ प्रतिशतले वृद्धि भई ६२ हजार युनिट किनबेच भएको छ । अध्ययनअनुसार सन् २०२३ को पहिलो त्रैमासिकमा १९ प्रतिशतले नयाँ आवासीय आयोजना सञ्चालनमा ल्याएका छन् ।