बीवाइडीले भारतमा गाडी र ब्याट्री उत्पादन गर्न १ अर्ब डलर लगानी गर्ने



एजेन्सी । विद्युतीय कार र ब्याट्री उत्पादनका लागि विश्वव्यापी रूपमा चिनिने चिनियाँ कम्पनी बीवाइडीले भारतमा विद्युतीय सवारी र ब्याट्री उत्पादन गर्न १ अर्ब डलर लगानीको प्रस्ताव गरेको छ ।

बीवाइडीले भारतीय कम्पनीसँगको सहकार्यमा गाडी र ब्याट्री उत्पादन गर्नका लागि भारतीय नियामक निकायसँग अनुमति मागेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार चीनको बीवाइडी कम्पनीले स्थानीय कम्पनीसँगको साझेदारीमा भारतमा विद्युतीय सवारी साधन र ब्याट्री बनाउन १ अर्ब डलरको लगानी प्रस्ताव पेश गरेको हो ।

निजी स्वामित्वमा रहेको हैदराबादस्थित मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चरले बीवाइडीसँग सहकार्य गर्ने र संयुक्त विद्युतीय सवारी साधन उत्पादन गर्न अनुमति माग्दै भारतीय नियामकहरूलाई प्रस्ताव पठाएको समाचारमा उल्लेख छ ।

दीर्घकालीन योजनाअन्तर्गत बीवाइडीले ह्याचब्याकदेखि लक्जरी मोडलसम्मको सम्पूर्ण सवारी साधन तथा ब्याट्री भारतमा ल्याउने प्रयास गरिरहेको छ ।

बीवाइडी विद्युतीय गाडी र प्लग–इन हाइब्रिड साधनहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक कम्पनी बनेको छ । सोही बीवाइडी कम्पनीले विश्वभर आफ्नो बजार विस्तार गर्नका लागि भारतमा उत्पादन गर्न उद्योग स्थापना गर्ने योजना बनाएको हो ।

तर, भारतको वाणिज्य तथा भारती उद्योग मन्त्रायलले हाउलसम्म उक्त विषयमा कुनै निर्णय नदिएको रोयटर्समा उल्लेख छ ।
भारत विश्वको तेस्रो ठूलो कार उत्पादन गर्ने देश हो ।

यस्तो अवस्थामा विश्वव्यापी स्तरका कम्पनीहरूले भारतमा तीव्र गतिमा लगानी गरिरहेका छन् । केही समयअघि विद्युतीय सवारी साधन उत्पादनकर्ता एलन मस्कले आफ्नो सवारी साधन निर्माण कम्पनी टेस्लालाई पनि भारतमा ल्याउने प्रतिबद्धता जनाएका थिए । साथै, टेस्लाले २० लाखमा कार लन्च गर्ने योजना सार्वजनिक गरेका थिए ।

भारतमा बीवाइडीले लगानी गर्ने भएसँगै टेस्लालाई चुनौती थपिएको छ । टेस्लाले विश्वव्यापी रुपमा एकछत्र राज गरिरहेको छ । टेस्लालाई चुनौती दिँदै बीवाइडीले पनि विश्वभर लगानी गरिरहेको छ ।

यदि भारतमा बीवाइडीको लगानी स्वीकृत भएमा अमेरिकाबाहेक सबै प्रमुख विश्वव्यापी कार बजारहरूमा बीवाइडीको उपस्थिति हुनेछ ।

टेस्लाले गत वर्ष भारतीय बजारमा प्रवेश गर्ने घोषणा गर पनि हालसम्म लगानी हुन सकेको छैन । टेस्लाले आयातित गाडीहरूमा कम कर शुल्क सुरक्षित गर्न असफल भएपछि गत वर्ष बजारमा प्रवेश गर्ने योजनाहरू स्थगित गरेपछि भारत सरकारसँग पुनः वार्ता सुरु गरेको छ ।

बीवाइडीले हालसम्म विश्वभर २० करोड अमेरिकी डलर बरारबको गाडी भारतमा बिक्री गरिसकेको छ । बीवाइडीले भारतीय बजारमा अट्टो थ्री विद्युतीय एसयुभी र द इसीक्स इभी बिक्री हुँदै आएको छ । त्यस्तै, बीवाइडीले यो वर्ष सिल लक्जरी विद्युतीय सेडान सार्वजनिक गर्ने योजना बनाएको छ ।

त्यसैगरी, बीवाइडीले कति क्षमतामा उत्पादन गर्ने भन्ने विषयमा स्पष्ट गरेको छैन । तर, स्रोतअनुसार बीवाइडीले भारतमा वार्षिक १ लाख गाडी र ब्याट्रि उत्च्पादन गर्ने योजना बनाएको छ । उक्त लगानी भएसँगै भारतले केही वर्षपछि निर्यात गर्न पनि सुरु गर्ने उल्लेख छ ।


क्लिकमान्डु