प्रधानमन्त्री पत्नी सीता दाहालको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचारका क्रममा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६९ वर्षीया उनको बुधबार बिहान निधन भएको हो ।
पुत्र प्रकाश दाहालको निधनपछि पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएको थियो । उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन भएको उनले जनाएका छन् ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।