हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ५ मेक्सिकन एकै परिवारका, छानबिन समिति गठन



काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ मा मनाङ एयरको हेलिकप्टर दुर्घटना ज्यान गुमाएका पाँच मेक्सिकन नागरिक एकै परिवारका रहेको पाइएको छ ।

मंगलबार बिहान मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ८ मिनेटमा नै दुर्घटनामा परेको थियो । १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए । हेलिकप्टरमा सवार फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष हुन् भने साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला हुन् ।

उनीहरुको नेपाल भ्रमणमा सघाएको एभरेस्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेका अनुसार उनीहरु एकै परिवारका सदस्य थिए ।

ज्यान गुमाउनेमा बुवा, आमा, दुई छोरी र एक छोरा रहेको उनले बताए । उनीहरु व्यापारमा संलग्न रहेको भन्नेबारे आफूले जानकारी पाएको उनको भनाइ छ ।

फर्नान्डोको परिवार आइतबार नयाँ दिल्ली हुँदै नेपाल आइपुगेको थियो । छोटो समय लिएर नेपाल आएका उनीहरु हिजो लुक्लामा बस्नका थिए भने आज माथि खुम्बु क्षेत्र गएर फर्कने क्रममा दुर्घटनामा परेको उनले बताए ।

सरकारले बनायो छानबिन समिति

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ । अल्टीच्युड एयरको हेलिकप्टरमार्फत ६ वटै शव मंगलबार अपराह्न त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।


क्लिकमान्डु