४ वर्षअघि ठूलो दुर्घटनामा बाँचेका थिए सोलुमा अस्ताएका मनाङ एयरका क्याप्टेन गुरुङ



२०७६ वैशाख १ गते लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमानले श्री र मनाङ एयरलाई ठक्कर दिँदा भएको दुर्घटना । फाइल तस्बिर

काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लाम्जुरापासस्थित सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लम्चुराडाँडामा दुर्घटनामा मृत्यु भएका मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ ४ वर्षअघि लुक्लामा भएको ठूलो दुर्घटनामा बाँचेका थिए ।

२०७६ वैशाख १ गते लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमानले श्री एयर र मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटना हुँदा गुरुङले मनाङ एयरको हेलिकप्टर उडाएका थिए । गुरुङ हेलिकप्टरबाट निस्केको केही सेकेन्डपछि समिट एयरको विमानले हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटना श्री एयर र मनाङ एयरको हेलिकप्टर पूर्ण क्षतिग्रस्त भएका थिए । श्री एयरको हेलिकप्टर पार्किङमा थियो भने
मनाङ एयर अवतरण गरेर गुरुङ बाहिरिन लागेका थिए ।

उक्त दुर्घटनामा समिट एयरका कोपाइलट सुजित लामा ढुंगाना र लुक्ला विमानस्थलमा कार्यरत् प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर तामाङ र रुद्रनाथ श्रेष्ठले ज्यान गुमाएका थिए ।

सुजित र रामबहादुरको घटनास्थलमै तथा रुद्रनाथको उपचारका क्रममा निधन भएको थियो । लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिट एयरको लेट एल ४१० यूभीपी–ई२० विमान विमानस्थलभन्दा करीब ४० मिटर दायाँ हेलिप्याडमा रहेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो ।

४ वर्षअघि ठूलो दुर्घटनमा जोगिएका गुरुङको मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लम्चुराडाँडामा भएको विमान दुर्घटनमा मृत्यु भएको हो । पछिल्लो १० वर्षदेखि चेतबहादुरले मनाङ एयरको हेलिकप्टर उडाउँदै आएका थिए । उनी मनाङ हेलिकप्टरका फ्लाइट सेफ्टी प्रमुख थिए ।

मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकप्टर मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको थियो । उडान भरेको ८ मिनेटमै हेलिकप्टर १० बजेर १३ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

हेलिमा पाँच मेक्सिकन नागरिक सवार थिए । दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रुहरुमा फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष हुन् भने साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला हुन् ।

हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार लाम्जुरा पासमा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार सबै ६ जनाको शव प्राप्त भएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु