दुर्घटनाग्रस्त हेलिकप्टरमा ५ मेक्सिकन नागरिक (नामसहित)



काठमाडौं । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकप्टरमा ३ महिला र २ पुरुष रहेका छन् ।

क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए । दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रुहरुमा फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष हुन् भने साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला हुन् ।

उनीहरुको अवस्थाबारे खुल्न बाँकी छ ।

मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिकएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।

सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासस्थित लिखुपिके-५ मा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर देखिएको उनको भनाइ छ ।

‘लाम्जुरा पास क्षेत्रमा साथीहरुले हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा देखेको जानकारी दिनुभएको छ’ उनले भनिन् । हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार लाम्जुरा पास हो ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उडान भरेको ८ मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिमा पाँच विदेशी यात्रुसहित ६ जना सवार छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

तिवारीले सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासमा अन्तिमपटक हेलिकप्टर सम्पर्कमा आएको बताएका थिए ।

हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रले मनाङ एयरसँग समन्वय गर्दै हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि पठाएको हो ।


क्लिकमान्डु