लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई लामो समय प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफूमा अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको बताए ।
‘म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ,’ प्रधानमन्त्रीले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन ।’
प्रधानमन्त्री दाहालले भारतीय सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन २/३ पटक दिल्ली गएको भन्ने विषयमा दिएको विवादित अभिव्यक्ति भावनामा आएर बाहिरिएको भन्दै माफी मागे ।
उनले पदमा रहुन्जेल यसपटक जनताको पक्षमा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले मिटरब्याज पीडितहरूको सम्बन्धमा सरकार गम्भीर रहेको बताए ।
उनले प्रतिपक्षी दलहरूले पनि प्रतिबद्धता देखाइसकेको भन्दै मिटरब्याज सम्बन्धी कानुन संसद्बाट पास हुन्छ भन्नेमा आफू ढुक्क भएको बताए ।