फ्रुटी र एपी जुस बेच्ने साउथ एसियन बेभरेजले ९ महिनामा गर्‍‍यो सवा १५ करोडको व्यापार



काठमाडौं । फ्रुटी र एपी ब्रान्डको जुस बिक्री गर्ने साउथ एसियन बेभरेजले ९ महिनामा १५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ करोड १८ लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीले सफ्ट ड्रिङ्क उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२२ को नोभेम्बरदेखि व्यापार गर्न सुरु गरेको थियो ।

भारतको पार्ले एग्रोको फ्रेन्चाइज भित्र्याएको कम्पनीले आगामी दिनमा इनर्जी ड्रिङ्क, कार्बोनेट सोडा/टोनिक वाटर, स्पोर्टस् बेभरेज र मिल्क बेस्ड बेभरेज उत्पादन गर्ने योजना बनाएको छ ।

कम्पनीले आँपको पल्प, स्याउ र अन्य विभिन्न प्रकारका कच्चा पदार्थ आयात गरी जुस उत्पादन गर्दै आएको छ । कम्पनीले १२५ मिलिलिटरदेखि ५०० मिलिलिटरसम्मको जुस उत्पादन गर्दै आएको जनाएको छ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको १५ प्रतिशत हिस्सा रहेको कम्पनीमा ८ जनाको स्वामित्व छ । कम्पनीको अध्यक्ष विष्णु अग्रवाल हुन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २० करोड ६४ लाख रुपैयाँ रेटिङ गराएको छ ।


क्लिकमान्डु