बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन सकिँदैन: रजिष्ट्रार घिमिरे
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षातकारमा बचतकर्तालाई अन्यायमा पारेर वा बचतकर्ताको बचत फिर्ता नगराई सहकारी बताउनुको कुनै अर्थ नरहेको उनले बताए । बचतकर्तालाई न्याय दिन नसकेको खण्डमा त्यो सहकारी नबच्ने उनको तर्क छ । अहिले बचतकर्तालाई सहकारीमा अविश्वास पैदा भएको उनको बुझाइ छ ।
रजिष्ट्रार घिमिरेले सहकारी ऐन २०७४ को ऐन आउनुअघि सहकारीलाई खुकुलो बनाएको असर अहिले देखिएको दाबी गरे । सहकारी समुदायमा आधारित हुनुपर्नेमा बढी बचत तथा ऋणमा केन्द्रित हुँदा आजको अवस्था आएको बताए ।
सानादेखि ठूला बचतकर्ताको बचतको संकलन गरेर सञ्चालकले तिनै बचकर्तामा लगानी नगरेर घर जग्गा, सेयर बजारमा लगानी गर्दा, आफ्नो र आफन्तको नाममा कम्पनी खोलेर त्यस कम्पनी मार्फत लगानी गर्दा सहकारीमा समस्या देखिएको अधिकारीको दाबी छ ।
अहिले घर जग्गा नबिकेपछि सहकारी समस्यामा पर्दै गएको उनको भनाइ छ । ‘सहकारीका सञ्चालकले जति पनि पैसा जहाँ पनि लगानी गर्न पाउने स्वतन्त्रताको दुरुपयोग हुँदा आजको दिन आएको हो’ उनले भने, ‘अर्बौ रुपैयाँ आफ्नो वा आफ्न्तको नाममा सहकारी खोलेर लगानी गरे । त्यसैले समस्या भएको हो ।’
सहकारी ऐनमा जति पनि पैसा, जसरी पनि सहकारीले सञ्चालक गर्न, देशैभरीबाट पैसा संकलन गर्न पाउने व्यवस्था भएको र त्यसैको असर अहिले टडकारो रुपमा देखिएको उनको तर्क छ । त्यसको दुरुपयोग गरेर बचतकर्ताको अर्बौ रुपैयाँ संकलन गरेर आफन्तको नाममा रहेको कम्पनीबाट गलत ठाँउमा गरेको लगानीको असर अहिले देखिएको उनको तर्क छ ।
सहकारीका सञ्चालक सदस्यबाट भागेपछि, टाढा भएपछि अर्को समस्या थपिएको उनको बुझाइ छ । ‘सञ्चालक सदस्यमा नजिक हुनुपर्ने समयमा टाढा भएपछि समस्या भएको हो’ उनले भने ‘सहकारीका सञ्चालकले बचतकर्ताको सुरक्षा छ भनेर भन्ने हो भने समस्या कम हुँदै जाने छ । त्यसका लागि सहकारी संस्था, सहकारी अभियान र सहकारी ऐनले भन्नु पर्छ ।’
सहकारी ऐनमा बचत तथा कर्जा सुरक्षण कोषको व्यवस्था गरेको र त्यो कोषले ३ लाख सम्म सुरक्षित गरेको बताए । ‘यद्यपी अहिले त्यो कोष सञ्चालनमा रहेको छैन’ उनले भने ।
कानून बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको पैसा ३ लाखसम्म सुरक्षित हुने उनको भनाइ छ ।
सहकारीका सञ्चालकले ठगेको पैसा थोरै समय जेल बसेर छुटकरा नपाउने बताए । उनले सहकारी ऐन १२४ अनुसार कारबाही हुने बताए । बिगो र जरिवाना तिर्न नसकेको खण्डमा जेल बस्नुपर्ने र जेल बसेर छुटकरा नपाउने उनको तर्क छ ।
घिमिरेले विदेश भाग्न खोज्नेलाई नेपालमा नै रोक्न बताए । ‘धेरै सहकारीका सञ्चालकलाई विदेश जान रोक लगाएका छौं, बैंक खाता बन्द गराएका छौं, चल अचल सम्पत्ति रोक्का गरेका छौं’ उनले भने ।
बचतकर्ताको रकम राज्यले राज्यको ढुकुटी संचिती कोषबाट पैसा फिर्ता दिन नमिल्ने दाबी गरे । तर बचत फिर्ता गराउन पहल राज्यले गर्ने बताए । सहकारीको सम्पत्ति वा सञ्चालकको सम्पत्ति लिलाम गरेर पैसा फिर्ता गराउने दाबी गरे ।
घिमिरेले योजना आयोगका सदस्यको संयोजकत्वमा बसेको कार्यदलले २५ गतेभित्र प्रारम्भिक बुझाउने बताए । त्यो प्रतिवेदनमा माइतिघरमा धर्नामा बसेका पीडितको समस्या समाधानका लागि पनि केही काम गर्ने बताए ।
बचतकर्ताको नाममा ठग्नेलाई पाता सक्न विभाग तयार रहेको उनको भनाइ छ । केही सहकारीका सञ्चालकलाई विभागमा दैनिक तारेखमा बोलाएको बताए ।