रिब्दीकोट गाउँपालिका-१ को अफर: दुईभन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार



पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर-१ ले दुईभन्दा बढी छोराछोरी जन्माउनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने योजना ल्याएको छ । वडामा जनसंख्या बढाउनका लागि भन्दै वडा कार्यालयले साउन १ देखि लागू हुने गरी यो व्यवस्था गरेको हो ।

गाउँमा खेतबारी बाँझो भएको तथा विद्यार्थी नभएर विद्यालयहरु समायोजना गर्नुपर्ने अवस्था आएको भन्दै वडाले यस्तो व्यवस्था गरेको जनाएको छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले पुरस्कार प्राप्त गर्ने र आउँदो वर्ष कार्यक्रमलाई थप बजेट छुट्याउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप ५ हजार रुपैयाँ दिइने उनले बताए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३३४ जनसंख्या थियो । जनगणना २०७८ अनुसार ३ सय जनसंख्या घटेर जम्मा २ हजार ३४ भएको छ ।


क्लिकमान्डु