आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रकम आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।
विशेषले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । त्यस्तै बिगोबमोजिम ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा जरिवाना हुने आदेश भएको छ ।
उनी डिभिजन सडक कार्यालय प्रमुख हुँदा अनियमिततामा मुछिएका थिए । कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।
खड्काको सम्पत्ति लुकाएको आरोप लागेका शर्मिला खड्का र अंकिता लामाको नाममा ३ कित्ता घरजग्गा रहेकोमा त्योसमेत विगोको हदसम्म जफत गर्ने आदेश भएको विशेष अदालतले जनाएको छ ।