कोरियामा जन्मिनेबित्तिकै १ वर्ष र जनवरी १ मा अर्को वर्षमा उक्लिने पद्धति खारेज
एजेन्सी । दक्षिण कोरियामा अबदेखि जन्मदिनका आधारमा नै उमेरको गणना गरिने भएको छ । दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधबारबाट कार्यान्वयनमा आएको हो ।
यसअघिको कानुनी व्यवस्थाअनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो ।
साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्ष वृद्धि गर्ने प्रचलन नभई जनवरी १ मा वर्ष वृद्धि गर्ने चलन थियो । नयाँ कानुन अभ्यासमा आएपछि यो गणना पद्धति खारेज भएको छ ।
राष्ट्रपति युन सङ योलले गत वर्ष चुनावी प्रतिस्पर्धाका बेला उमेर गणना विधि परिवर्तन गर्ने विषयलाई जोडदार रूपले उठाएका थिए । चुनावी प्रतिबद्धताअनुसार नै उनले परम्परागत उमेर गणना विधिलाई हटाएका हुन् ।
परम्परागत उमेर गणना विधिले ‘अनावश्यक सामाजिक र आर्थिक मूल्य चुकाउनुपरेको’ उनको भनाइ छ । परम्परागत विधिबाट उमेर गणना गरिँदा बिमाको भुक्तानी र सरकारी सहायता कार्यक्रममा सहभागी हुन योग्य हुने उमेर निर्धारणका क्रममा विवाद सिर्जना भएका थिए ।