एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन ३० लाख ऋण



ललितपुर । ललितपुरका एक व्यक्ति ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि प्रहरीको शरणमा पुगेका छन् ।

ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।

उनलाई आज ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर आपराधिक लाभ तथा अनुचित लेनदेन गरेको आरोपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार नरेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख सापटी दिई वैदेशिक रोजगारीको कागज बनाएका थिए । मनोज महर्जनले पटक–पटक गरी १ करोड २६ लाख लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा किटानी जाहेरी परेको सोही आधारमा ज्ञानेन्द्रलाई पक्राउ गरिएको हो ।

उनको घरमा खानतलासी गर्दा सात करोड २८ लाख ७७ हजारको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको कार्कीले बताए । ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेलापरेको छ ।

यस्तै १ करोड ३४ लाख उल्लेख भएको ३२ थान विभिन्न बैंकका चेक तथा सहकारीका चेक बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै उनको साथाट ६ थान चेकबुक तथा लालपुर्जासमेत बरामद गरिएको छ । सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु