ह्वाट्सएपमा नयाँ सुविधा: अब साथीहरूको जन्मदिनको पनि आउनेछ नोटिफिकेसन

21
Shares

एजेन्सी । विश्वकै लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि एउटा नयाँ र उपयोगी फिचर ल्याउने तयारी गरिरहेको छ ।

अब ह्वाट्सएपले तपाइँका कन्ट्याक्टमा रहेका साथीभाइ तथा आफन्तहरूको जन्मदिनको बारेमा नोटिफिकेसन (अलर्ट) पठाउनेछ ।अहिलेसम्म जन्मदिनको रिमाइन्डर वा नोटिफिकेसनका लागि फेसबुक निकै चर्चित थियो। मेटाले अब आफ्नै अर्को प्लेटफर्म ह्वाट्सएपमा पनि यो सुविधा थप्न लागेको हो ।

यो फिचर आएपछि प्रयोगकर्ताहरूले आफ्ना नजिकका व्यक्तिहरूको विशेष दिन बिर्सिने समस्याबाट मुक्ति पाउने विश्वास गरिएको छ ।रिपोर्टका अनुसार, ह्वाट्सएपको यो नयाँ ‘बर्थडे नोटिफिकेसन’ फिचर अहिले परीक्षणको क्रममा छ । यसलाई ह्वाट्सएपको बेटा भर्सनमा देखिएको छ ।तपाइँको कन्ट्याक्ट लिस्टमा भएका व्यक्तिहरूको जन्मदिनको दिन ह्वाट्सएपले तपाइँलाई एउटा नोटिफिकेसन पठाउनेछ ।नोटिफिकेसनमा क्लिक गरेर प्रयोगकर्ताले सिधै सम्बन्धित व्यक्तिलाई जन्मदिनको शुभकामना सन्देश पठाउन सक्नेछन् ।

फेसबुकमा जस्तै यसमा पनि गोपनीयताको ध्यान दिइनेछ । यदि कुनै प्रयोगकर्ताले आफ्नो जन्मदिन अरूलाई देखाउन चाहँदैनन् भने, उनीहरूले सेटिङमा गएर यसलाई लुकाउन वा बन्द गर्न सक्ने विकल्प पाउनेछन् ।कहिले आउँछ यो सुविधा ?ह्वाट्सएपले यस फिचरलाई हाल एन्ड्रोइड र आईओएस दुवैका केही सीमित बेटा प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको छ ।

परीक्षण सफल भएपछि यसलाई आगामी केही हप्ता वा महिनाभित्रै विश्वभरका सबै प्रयोगकर्ताहरूका लागि सार्वजनिक गरिने बताइएको छ ।

ह्वाट्सएपले पछिल्लो समय प्रयोगकर्ताको अनुभव सुधार्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स (मेटा एआई) र नयाँ इन्टरफेसहरूमा लगातार काम गरिरहेको बताइएको छ ।