कांग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छः शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताए ।
आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए ।
नेता कोइरालाले कांग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए ।
‘नेपाली कांग्रेस छियाँछियाँ हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ’ उनले भने ।
नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताए ।