भारतीय प्रधानमन्त्री मोदी र टेस्लाका मालिकबीच भेट, मस्कले भने– छिट्टै टेस्ला भारतमा हुनेछ



एजेन्सी । अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका मालिक तथा सीईओ एलन मस्कलाई भेटेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले र मस्कसँग अमेरिकाको न्युयोर्कमा भेट गरेका हुन् । भारतमा टेस्लाले आफ्नो विद्युतीय गाडीहरुको उत्पादनका लागि कारखाना राख्न लागेको समयमा भएको यो भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

उक्त भेटमा मस्कले भारत संसारकै ठूला देशहरुको तुलनामा सबैभन्दा धेरै सम्भावना भएको देश रहेको बताएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मस्कले भेटमा भनेका छन्, ‘म भारतको भविष्यलाई लिएर निकै उत्साहित छु । भारत संसारका कुनै पनि ठूला देशको तुलनामा धेरै सम्भावना भएको देश हो । प्रधानमन्त्री मोदी वास्तवमै भारतको चिन्ता लिन्छन् । म उनको फ्यान हुँ । यो एउटा निकै महत्पूर्ण भेट थियो र म उनलाई साच्चै प्रसंसा गर्छु ।’

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि मस्कसँगको भेटघाटको विषयलाई आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै महत्वपूर्ण भेटर्वार्ता भएको बताएका छन् ।

‘आज तपाईंसँग रमाइलो भेट भयो एलन मस्क’, भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन्, ‘हामीले उर्जादेखि आध्यात्मिकतासम्मका विषयमा कुरा गरेका छौं ।’

टेस्ला भारतमा कहिले आउँछ भन्ने विषयमा पनि मस्कले आफ्नो अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘मलाई विश्वास छ भारतमा टेस्ला छिट्टै नै आउँछ।’


क्लिकमान्डु