नेपाली ब्राण्डको शेर्पा आउटडोरले ९ महिनामा गर्‍यो ३८ करोडको व्यापार, झापामा उद्योग खोल्दै



काठमाडौं । नेपाली ब्राण्ड शेर्पा आउटडोर स्पोर्टस गुड्स इन्डष्ट्रिजले ९ महिनाको अवधिमा ३८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३८ करोड रुपैयाँको व्यापार गरेको हो ।

सन् १९९४ मा साना तथा घरेलु उद्योगको रुपमा स्थापना भएको कम्पनी सन् २०२१ मा प्राइभेट लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

काजी शेर्पाको पूर्ण स्वामित्व रहेको कम्पनीले सन् २०२२ मा ४१ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा ७ करोड २० लाख रुपैयाँ, सन् २०२० मा ९ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ३२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले काठमाडौंमै जर्सी, ज्याकेट, ट्राउजर, ट्रेकिङ ज्याकेट, ब्याग, टेन्ट, जुत्ता र मोजा आदि उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा नेपाल स्काउटसँग स्काउटको ड्रेस, ब्याच, ट्रयाकसुट र अन्य स्काउटका लुगाहरु आपूर्ति गर्ने गरी सम्झौता गरेको छ ।

करिब तीन दशक लामो इतिहास बोकेको कम्पनीले झापामा नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले हालसम्ममा उद्योग स्थापनाका लागि ८५ प्रतिशत आर्थिक प्रगति गरेको जनाएको छ ।

कम्पनीले सोही उद्योग स्थापनाका लागि कर्जा लिएको छ । जसमा कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ३६ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५९ करोड ३३ लाख रुपैयाँ अर्थात् एलबीप्लस र अल्पकालीन कर्जाका लागि ७७ करोड अर्थात् एफोर रेटिङ पाएको छ ।

काठमाडौंमा गार्मेन्ट रहेको कम्पनीले केटीएम सीटी ब्रान्डको खेलकुदको पोसाक तथा अन्य पोसाकहरु उत्पादन गर्दै आएको छ । कम्पनीको देशभर २४ वटा शाखा छन् । साथै, कम्पनीले आगामी दिनमा शाखा विस्तार गर्ने कार्यलाई तीब्रता दिने उल्लेख गरेको छ ।

त्यसैगरी कम्पनीले एन्फा र अन्य राष्ट्रि फुटबल क्लबहरुसँग सम्झौता गरेर आवश्यक स्पोर्टस् पोसाकहरु उपलब्ध गर्दै आएको छ । जसले गर्दा कम्पनीको आम्दानी बढाउन सहयोग पुगेको कम्पनीको भनाइ छ । कम्पनीले स्वदेशी मात्रै नभएर विदेशमा पनि निर्यात गर्दै आएको छ ।


क्लिकमान्डु