पासपोर्ट लिँदा लाग्ने दस्तुर घट्यो, अबदेखि ६६ पृष्ठको मात्रै पाइने



काठमाडौं । सरकारले राहदानी (पासपोर्ट) को दस्तुर घटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधन गरेको हो ।

संशोधित व्यवस्था अनुसार सरकारले साधारण राहदानीको लागि विभाग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा नियम ६ को उपनियम (४) बमोजिम निवेदन दिएकोमा ५ हजार रुपैयाँ दस्तुर तोकेको छ । सरकारले यसअघि प्रशासनमा निवेदन दिँदा ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा १० हजार दस्तुर लिने गरेको थियो । तर, अब ६६ पृष्ठको पासपोर्ट ५ हजार रुपैयाँमा लिन सकिने भएको छ ।

सरकारले सेवाग्राहीका लागि ३४ र ६६ पृष्ठका दुई पासपोर्ट वितरण गर्ने गरेको थियो । जसको दस्तुर पनि पृष्ठ अनुसार फरक तोकिएको थियो । तर, नयाँ व्यवस्थाअनुसार अब सबैलाई ६६ पृष्ठको पासपोर्ट वितरण गरिने भएको छ ।

राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले ३४ पृष्ठको पासपोर्ट वितरण रोकेर अबदेखि ६६ पृष्ठको मात्रै वितरण गर्ने बताउँछन् ।

‘दुई प्रकारका पासपोर्ट वितरण गर्दै आएकोमा दस्तुर घटाएर ३४ पृष्ठको मूल्यमा नै ६६ पृष्ठको पासपोर्ट पाउने व्यवस्था गरिएको हो’ उनले भने ।

सरकारले दुई दिनमा राहदानी निकाल्न लाग्ने रकम पनि घटाएको छ । यसअघि ३४ पृष्ठको हकमा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ दस्तुर लिने गरिएको थियो ।

सरकारले ३४ पृष्ठको पासपोर्ट वितरण नगर्ने भएसँगै ६६ पृष्ठको पासपोर्टको दस्तुर ६ हजार रुपैयाँ घटाएर १२ हजार मात्रै तोकेको हो ।

नियम ६ को उपनियम(६) मा भनिएको छ, ‘उपनियम ५ मा जुनसुकै कुरा लेखिएको भएता पनि कसैले विभागबाटै द्रुतरुपमा राहदानी जारी गरि पाउन निवेदन दिएमा विभागले अनुसूची ४ बमोजिमको दस्तुर लिइ २ कार्यदिनभित्र साधारण राहदानी जारी गर्न सक्नेछ ।’

सरकारले यस्तो खालको राहदानीका लागि यस अघि २० हजार रुपैयाँ दस्तुर लिने गरेको थियो । तर संशोधित व्यवस्था अनुसार यसका लागि अब १२ हजार रुपैयाँ लाग्नेछ ।

राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा यस खण्ड बमोजिम लाग्ने दस्तुरमा थप ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा राहदानी एक सय ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकिएको छ ।

यसअघि ३४ पृष्ठको लागि सोही मूल्य तोकेको थियो भने ६६ पृष्ठको हकमा २५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको थियो ।

रुसी महासंघ र र नेपाली राजदूताबास मस्कोको सहप्रमाणीकृत मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको ८० युरो वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ । अबदेखि सेवाग्राहीले ८० युरोमा पासपोर्ट पाउनेछन् । जसमा सरकारले ५० युरो घटाएको छ ।

युरोपेली देशस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रतिराहदानी १२० युरो वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ । यसअघि सरकारले १७० युरो वा सो बराबरको स्थानीय मुद्रा तोकेको थियो ।

मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेबनान, इराक, इरान, कुबेत, इजरायल, सिरिया, जोर्डन, ओमान र यमनस्थित नियोग र सो नियोगको सहप्रमाणीकृत मुलुकको लागि नियोगमा निवेदन दिँदा प्रति राहदानी ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ । यसअघि सोही पासपार्ट पाउनका लागि सरकारले एक सय डलर तोकेको थियो ।

अन्य एसियाली, अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा निवेदन दिँदा प्रति राहदानी ८० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ । सरकारले यसअघि १३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको थियो ।

राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा नियोगबाट नयाँ राहदानी लिनु पर्दा लाग्ने दस्तुरको दोब्बर बनाइएको छ ।

१० वर्षभन्दा कम उमेरका नाबालकको राहदानीको लागि निवेदन दिँदा आधा रकम लाग्नेछ । तर दश वर्षभन्दा कम उमेरका नाबालकले राहदानीको लागि विभागमा निवेदन दिँदा ९ हजार ५ सय रुपैयाँ दस्तुर लाग्नेछ । सरकारले यसअघि ६६ पृष्ठको पासपोर्टका लागि १४ हजार ५ सय रुपैयाँ दस्तुर तोकेको थियो ।

विभागबाट जारी गरिने प्रतियात्रा अनुमतिपत्रको ४ हजार रुपैयाँ, नियोगबाट जारी गरिने प्रतियात्रा अनुमतिपत्रको ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ ।

विभागबाट जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को लागि १२ हजार रुपैयाँ र नियोगबाट जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को लागि १२० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ ।
अस्थायी राहदानीको लागि ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ ।


अरिष्मा मोक्तान