‘आदिपुरुष’ नसच्याए काठमाडौंमा हिन्दी चलचित्र चल्न नदिने बालेनको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले दक्षिण भारतीय चलचित्र नसच्याए पालिकामा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका छन् ।

दक्षिण भारतीय चलचित्र आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भनेको पाइएपछि महानगर प्रमुख बालेनले नेपालमा मात्र नभई भारतमा पनि ३ दिनभित्र चलचित्र सच्याउन चेतावनी दिएका हुन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’

नेपाली सेन्सर बोर्डले पनि ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरिसकेको छ । संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय बोर्डले गरेको हो ।

सेन्सर बोर्डको निर्णयमा अन्य सदस्यले पनि हस्ताक्षर गरेका छन् । अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेस गर्नुपर्ने भएको छ । यो संवादलाई लिएर सामाजिक सञ्जालमा पनि भारतीय चलचित्र निर्माताको व्यापक विरोध भइरहेको छ ।


क्लिकमान्डु