इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित, २०८३ बाट स्वत: अध्यक्ष हुने



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका सूर्यप्रसाद अधिकारीको योग्यता नपुगेपछि निर्वाचन समितिले डाँगीको एकल उम्मेदवारी कायम गरेसँगै उनी वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।

इप्पानको संसोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ । तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन् ।

उनको योग्ता नपुगेपछि निर्वाचन समितिले डाँगीको उम्मेदवारी मात्रै कायम गरेको छ । यो सँगै डाँगी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका छन् भने संशोधित विधानअनुसार त्यसपछि उनी स्वत: अध्यक्ष हुनेछन् ।

१५ वर्षदेखि ऊर्जा क्षेत्रमा क्रियाशील डाँगी संलग्न ३ वटा आयोजनाबाट बिजुली उत्पादन सुरु भइसकेको छ । १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजना, ७.५ मेगावाटको तेह्रथुम पावर र १९.८ मेगावाटको माथिल्लो सोलु खोला गरी ४२. २ मेगावाट विद्युत उत्पादन सुरु भएको हो ।

दुई मेगावाटको खोरुङ्गा ताङमाया र ५० मेगावाटको दानाखोला जलविद्युत आयोजना गरी ५४ मेगावाटका दुई आयोजना निर्माणको चरणमा छन् ।

त्यस्तै १५२ मेगावाटको माथिल्लो सानीभेरी जलविद्युत आयोजना र ७२ मेगावाटको पेल्मा खोला जलविद्युत आयोजना गरी २२४ मेगावाटका आयोजना अध्ययनको चरणमा छन् । यी सबै आयोजना गरी ३२० मेगावाटबराबरका आयोजनामा डाँगी प्रत्यक्ष संग्लग्न छन् ।


क्लिकमान्डु