नयाँ ब्रोकरको आरोपः अर्थसमितिले कर्तव्य र अधिकार भन्दा बाहिर गएर निर्देशन दियो, तुरुन्त खारेज गरोस



काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायीले अर्थसमितिलाई हाल सञ्चालनमा रहेका दलाल व्यवसायीको गुमराहमा परी निर्णय गरेको आरोप लगाएका छन् ।

धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायीलाई लाईसेन्स दिएपछि त्यसमा अर्थ समितिले थप अध्ययन गर्न आवश्यक रहेको भन्दै तत्काल प्रकृया स्थगत गर्न निर्देशन दिएको थियो । समितिले उक्त निर्देशन दिएपछि नयाँ ब्रोकरहरुले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिलाई यस्तो आरोप लगाएको हो ।

अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पूँजीबजारमा भएको यत्ती ठूलो प्रगतिलाई रोक्ने भएको हुँदा यस्तो पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गरेको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ बमोजिम अर्थसमितिलाई तोकिएको आफ्नो काम, कर्तव्य र अधिकार भन्दा बाहिर गएर केही सीमित सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी तिनीहरुको सिण्डिकेटलाई कायम गर्न मद्दत पुग्ने गरी निर्देशन दिएको भन्दै उक्त निर्देशन तत्काल रारेज गर्न माग गरेको छ ।

धितोपत्र बोर्डबाट पूर्वाधार निरीक्षण सम्पन्नभई दुई चरणबाट १८ वटा नयाँ धितोपत्र दलाल व्यवसायीहरुले अनुमति पाइसकेको र ७ वटाले नेपाल स्टक एक्सचेन्जबाट पूर्वाधार तयारी गरी जानकारी गराउने आशयपत्र समेत पाएको स्मरण गराएको छ ।

७ वटा नयाँ धितोपत्र दलाल व्यवसायीहरुले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७९ (तेश्रो संशोधन) अनुरुप तोकिएको पूर्वाधारहरु पूरा गर्नुका साथै आवश्यक सम्पूर्ण कर्मचारीहरु भर्ना गरी कार्यालय समेत सञ्चालन गर्ने व्यवस्था मिलाएको अवस्थामा जेठ २९ गते हठात रुपमा अविश्वसनीय ढंगबाट सर्वोच्च अदालतबाट २०७९ चैत्र २६ गते भएको फैसलालाई समेत चुनौति हुनेगरी दिएको निर्देशन खारेज गर्न माग गरेको छ ।


क्लिकमान्डु