एमालेलाई बाहिर राखेर माओवादी, नेकपा एस लगायत ६ वाम दल‍बीच मोर्चाबन्दीको तयारी, केही दिनमा घोषणा हुने



दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएका हुन् ।

‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’ प्रधानमन्त्रीले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो।’

‘हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकतावद्ध नगरी क्रान्ति हुँदैन’ प्रचण्डले भने, ‘फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौँ । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधरहरू छन् । उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ ।’

‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ । जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरूरी छ । देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ’ प्रधानमन्त्रीले भने ।

‘हाम्रो क्रान्ति मौलिक र जीवन्त छ । हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गर्‍यौं । हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ’ प्रधानमन्त्रीले भने, ‘लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो । तर, उहाँले लेखे जस्तै दस्तावेजमा भनिएजस्तो क्रान्ति भएन । मौलिक भयो । किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो । लेनिनले फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो।’

प्रशिक्षणमा नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताइन् ।


क्लिकमान्डु