मध्यरातमा किन रोए हर्क साम्पाङ ?



धरान । एक वर्षअघि भएको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा सबैलाई आश्चर्यमा पार्दै स्वतन्त्र उम्म्दवार हर्क साम्पाङ विजयी भएका थिए ।

उम्मेदवारी दर्ता गरेदेखिनै हर्कले काकाकुल धरानबासीलाई पानी खुवाउने योजना सुनाएका थिए । उनको अठोटलाई धरानबासी पत्याए र मत दिए । त्यस नारालाई साम्पाङले सार्थक बनाउँदै लगेको देखिएको छ ।

उपमहानगरमा निर्वाचित अन्य जनप्रतिनिधिसँग राम्रो सम्बन्ध राख्न नसकेका साम्पाङले जनश्रमदानलाई निर्वाचित भएपछि सुरुवात गरेका थिए ।

पानी ल्याउनका लागि पाइप बोक्ने लगायतको काम गरेका उनले करिब ४५ किलोमिटर पर रहेको बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी धरानमा झार्न सफल भएका छन् ।

सोमबार मध्य राति कोकाहाको पानी धरान उपमहानगरपालिका-२० स्थित पकुवा खोलामा झर्दा मेयर साम्पाङ त्यहीँ थिए । सार्वजनिक भएका भिडियोहरुमा पानी झरेपछि उनी भावुक भएका छन् । सपना पूरा भएकोमा रोएका उनी आँशु पुछ्दै पानी खसेको स्थानमा पुग्छन् ।

साम्पाङकै योजनामा बनेको साबुन उद्योग निर्माणस्थल नजिकैको पकुवा खोलास्थित वास आउट प्वाइन्टमा पानी खसालिएको थियो । पानी खसालिएपछि मेयर साम्पाङले नुहाएका थिए ।

श्रमदानमा सघाउनेहरुसँगै उनी मध्यरात त्यहाँ पुगेका थिए ।

उनले आफूलाई विश्वास गरेर साथ दिनेहरुलाई धन्यवाद दिए । पानी धरान २० स्थित हात्तीसारमा झारिँदैछ । कोकाहाको पानी धरान ल्याउन करिब ४ करोड रुपैयाँ, पाइप र अन्य जिन्सी सामान सहयोग जुटेको जनाइएको छ ।


क्लिकमान्डु