‘छेन्दु-पोखरा उडानका लागि चीन तयारी अवस्थामा’



काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबारसाँझ भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरुमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एबम विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिदैं आएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा भएको बताए । पछिल्ला दिनहरुमा नेपाल र चीनको बिद्यायिकी सम्बन्ध बिस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल-चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबूत बनाउनेछ बिश्वास पनि ब्यक्त गरे ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकोमा खुसी पनि ब्यक्त गरे ।
चीनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गरेका थिए ।

नेपाल चीनबीच केरुङ/रसुवागढी, हिल्सा/पुराङ र तातोपानी/झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने बिश्वास पनि ब्यक्त गरे । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि अनुरोध पनि गरे ।

भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका बिषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका थिए । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जानकारी दिएका थिए ।

पोखरा बिमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा छ ।

अध्यक्ष तिमिल्सिना ९ सदस्यी नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहनुभएको छ । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनको औपचारिक भ्रमणमा रहेको नेपाली साँसदहरुको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन् ।


क्लिकमान्डु