भारतमा सुन महँगो भएकाले नेपालमा पनि महसुल वृद्धि: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालभन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारतर्फ हुने चोरीनिकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन् ।

बजेटमा उठेका प्रश्नको सोमबार संसद्‍मा जवाफ दिने क्रममा डा. महतले भने, ‘सुनको भन्सार दर विगतदेखि नै भारतमा लाग्ने महसुल दरअनुरुप समायोजन गर्ने गरिएकोमा चालू आर्थिक वर्षको बजेटले भारतमा दर वृद्धि गरेको भए पनि नेपालमा समायोजन नभएका कारण ठूलो भिन्नता थियो । त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो ।’

भारतमा मूल्यगत आधारमा महसुल लाग्दा सबै खालका कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति १० ग्राम ८ हजार ५०० रुपैयाँ छ । परिमाणका आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उतावचढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा मूल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले प्रस्ट पारे ।


क्लिकमान्डु